वैशाख २ सम्म पानी पर्ने

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । शनिबार काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीका अनुसार अहिले देशको विशेषतः काठमाडौंसहित मध्य र पश्चिमी भूभागको मौसम बदलिएको हो ।

खासगरी पहाडी क्षेत्रको मौसम बदली भएको उनले बताए। ‘आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ,’ मौसमविद् सुवेदीले भने, ‘केही ठाउँमा अहिले वर्षा भइरहेको छ।’काठमाडौंमा पनि डेढरदुई घण्टा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘एकोहोरो वर्षा हुँदैन,’ उनले भने, ‘केही बेर पानी पर्ने फेरि खुल्ने हुन्छ।’

स्थानीय वायुको प्रभावले बदली भएको मौसम कहाँ कतिबेला बदली हुन्छ भन्न नसकिने वरिष्ठ मौसमविद् सुवेदीको भनाइ छ। ‘अहिले चट्याङ पर्न रोकिएको छ,’ उनले भने, ‘तर पनि प्रि-मनसुन भएकाले पर्ने सम्भावना भने हुन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पूर्वी मध्य तथा पश्चिमी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यसैगरी राति पनि देशभर मौसम बदली भई पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज चैत ३० देखि वैशाख २ गतेसम्म वर्षाको सम्भावना रहेको अनुमान महाशाखाले गरेको छ। शनिबार देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

आइतबार देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ। साथै पूर्वी र मध्य तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

सोमबार देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्