‘महिनावारीको समयमा स्कुल नआउने छात्राहरु अहिले आउन थालेका छन्’: नेपाली प्याड मेन

sanetory pad
लाेकपाटी न्यूज

पोखरा, १ बैशाख। पोखराको बैदामका १८ वर्षिय अश्विन कार्कीलाई आजभोली सबैले प्याडमेन भनेर बोलाउछन्।

एक वर्ष अगाडी देखि उनले घरमा पाइने सामानबाट महिलाहरुको महिनावारीमा प्रयोग हुने प्याड बनाउने र महिनाबारीको बारेमा जानकारी दिदै सचेतनाको काम गरिरहेका छन्। पहिलादेखि उनकी आमालाई महिनाबारी भएको बेला धेरै रक्तश्राव हुने गर्दथ्यो। यसको समाधानका लागि ममीले धेरै कपडा प्रयोग गर्नुहुन्थ्यो।

त्यो काम निके कष्ठकर हुन्थ्यो। त्यसको व्यवस्थापनका लागि अश्विनले प्याड बनाउने सोच बनाए। उनको यो काममा ममी र दिदीहरुले सहयोग गरे। अश्विन भन्छन्– “मैले बनाएको पहिलो प्याड नै ममीले प्रयोग गर्नुभयो।”

अश्विनले आफ्नो यो अभियानलाई गाउँ गाउँसम्म पुर्याउने योजना बनाएका छन्। उनले केहि समय पछि नेपालको सुदुरपश्चिममा आफ्नो अभियान संचालन गर्ने बताएका छन्। नेपाली समाजमा महिनावारीको बारेमा रहेको सोचलाई परिवर्तन गर्दै यो विषय सामान्य विषय हो, नियमित विषय हो भन्ने चेतनाको विकास गर्न जरुरी रहेको उनको भनाइ रहेको छ।

हुनत स्कुलमा पढ्दा साथीहरुले महिनाबारीको बारेमा बोल्दा के बोलेको, लाज नभएको भन्दै खिस्सी गरे, महिलाको सौचालयमा उनको बारेमा हल्ला गरे तर अहिले अश्विनको अभियानमा सहयोग गर्न आईरहेका छन्। त्यसैले पनि अश्विन आफ्नो यो अभियानमा सफल भईरहेको र आगामी दिनमा पनि सफल हुने विश्वास लिएका छन्।
अश्विनको घरमा सुस्त मनस्थितिको दिदी हुनुहुन्छ।

दिदीको महिनावारी हुन थालेपछि उनले महिनावारीका कारणले महिलाहरुमा हुने समस्या,उनीहरुले झेल्नुपर्ने अप्ठ्याराहरु बुझे। दिदीको समस्याले गर्दा उनलाई यो कदम उठाउन झकझकायो। त्यसपछि अश्विनले इन्टरनेट मार्फत सेनेटरी प्याड र महिनावारीको बारेमा बुझे। इन्टरनेटबाट नै उनले सेनेटरी प्याडका प्रकार, तिनका असर बुझे।

सुतीको कपडाको प्याड घरमै सजिलोसंग बनाउन सकिने,स्वास्थ्यका दृष्टिकोणले राम्रो र वातावरणमैत्री हुने बुझेपछि उनले उक्त प्याडको बारेमा विस्तृत जानकारी लिए, प्याड बनाउन सिके।
अश्विनले सुरुमा प्याड बनाउन थाल्दा साथीहरुले गिज्याए।

अझ महिनावारीको कुरा गर्न थालेपछि उनलाई, ‘ केटा भएर महिनावारीको कुरा गर्छ ‘ बनेर उडाए। तर उनी आफ्नो विचारमा अडिग थिए। त्यसैले ती कुराहरु उनको अगाडी गौण भए। अश्विन प्याड लिएर स्कुलहरुमा पुग्दा समेत छात्राहरु लाज मान्ने, केटो महिनावारीको कुरा गर्न आएको भन्ने आलोचना जस्ता समस्या आए। उनले भने आफ्नो अभियानलाई निरन्तरता दिए।

अश्विनको त्यो दृढता र निरन्तरताले गर्दा छात्राहरु महिनावारीको बारेमा खुलेर बोल्न थालेका छन्। महिनावारीको समयमा स्कुल नआउने छात्राहरु अहिले स्कुल आउन थालेका छन्। महिनावारीको समयमा फोहोर लुगा प्रयोग गर्ने छात्राहरु अहिले आफैले बनाएको सफा प्याड प्रयोग गर्न थालेका छन्। महिनावारीको कुरा गर्दा नराम्रो नजरले हेर्ने आफ्नो उमेरका किशोरीहरु अहिले उनको साथी भएका छन्।

अश्विन कार्की हाल स्नातक तहमा अध्ययनरत छन्।आफ्नो अभियान अनुसार नै अध्ययनको विषय पनि डेभलपमेन्ट स्टडिज भएका कारण अभियान चलाउन तथा समय व्यवस्थापन गर्न सहज भएको उनी बताउँछन्। पढाइ र काम दुवै मिलोजुल्दो भएका कारण उनी आफ्नो यो व्यस्ततामा रमाइरहेका छन्। अश्विनले अहिले आफैं खर्च जुटाएर अभियान चलाइरहेका छन्।

अहिले साथीहरुले अश्विनलाई सम्मानका साथ ‘नेपाली प्याडम्यान’ को उपनाम दिएका छन्। अश्विन पनि आफूलाई कसैले प्याडम्यानको नामले चिन्दा गर्व महसुस गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्