‘करकाे दायरा बढाउँछौं’ : अर्थमन्त्री डा. खतिवडा

dr. yubraj khatiwada
लाेकपाटी न्यूज

चितवन, ०२ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन्। उनले आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई यस्तो निर्देशन दिँदै सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न सुझाव दिएका हुन्।

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै खतिवडाले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन आग्रह गरेका छन्। उनले आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए। आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।

उनले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन आग्रह पनि गरेका छन्। कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले अन्तः शुल्क संकलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई आग्रह गरेका छन्।

सोही अवसरमा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिएका छन्। उनले निर्देशन पालना गर्दै भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा रु २० अर्ब राजश्व संकलन भइसकेको छ । कार्यालयले यस आर्थिक वर्षमा रु ३० अर्ब राजश्व उठाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्