काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोत तथा जलस्रोतको विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्ने काम भएको बताएका छन् ।
पुर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा नेता खनालले विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै सरकारलाई असफल पार्न गरिएका षड्यन्त्रविरुद्ध दृढताका साथ उभिनुपर्ने बताएका हुन् । नयाँ वर्षको सन्दर्भमा खनालले पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै त्यस किसिमको षड्यन्त्रविरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् ।
त्यस्तै ठूलो संख्यामा युवाहरु विदेशिनु पर्ने वाध्यात्मक स्थिति नेपाली कांग्रेसले ल्याएको उनको भनाइ छ । सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको उनले बताए । उनले २०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणीसमेत गरे ।
उनले भने, ‘नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौं भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन रु पटक–पटक बहुमत प्राप्त भएको होइन, तर के गर्नुभो ? सारा देशलाई गरिवीमा डुबाउनुभयो । सारा देशमा वेरोजगारीमा डुबाउनु भयो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भईरहेका छन् । यो बाध्यता खडा गर्यो कसले रु नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्नु भन्न चाहन्छु ।’