पोखरा, ३ वैशाख । नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्कीको विस्तारित बैठक तथा शुभकामना आदानप्रदान सोमबार सम्पन्न भएको छ।
लेखनाथको रुपा गाउँपालिका ६ जमुनकुनामा सम्पन्न उक्त कार्यक्रममा शिक्षकका हकहित, शैक्षिक सुधार, दरबन्दी मिलान, जिल्ला परिषद्को गठन सम्बन्धी विविध विषयमा छलफल हुनुका साथै नववर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
उक्त कार्यक्रममा शिक्षक युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष दीपक पौडेलले शिक्षकको पेशागत हकहितका लागि सबै एक हुन आग्रह गरे।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष रामप्रसाद पोखरेल, जिल्ला अध्यक्ष रोमहर्षण पौडेल, शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराई, एकिकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष ताराप्रसाद पौडेल, अखिल नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष प्रेमबहादुर थापालगायतले बोलेका थिए।
उक्त कार्यक्रममा ५० जना भन्दा बढी अगुवा शिक्षकहरुको उपस्थिती रहेको नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्कीका सदस्य एवं प्रचार विभाग प्रमुख डिल्लीराम बरालले जानकारी दिए। कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि लोचना अधिकारी, सम्झना पौडेल लगायतले महासंघले समग्र शैक्षिक विकासका लागि शिक्षक महासंघले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य गोपालमणि लामिछानेले शिक्षक युनियनका पूर्व अध्यक्ष जगन्नाथ अधिकारी, महासंघका सह–अध्यक्ष महेन्द्रमणि पौडेल लगायतले शिक्षक सेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धामा पदस्थापन भएका महासंघका पदाधिकारीहरुले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पेशागत क्षमता विकासमा जोड दिन आग्रह गरे।
कार्यक्रमको सभापतित्व नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्कीका अध्यक्ष बोधराज पौडेल र सञ्चालन सचिव मनिराम कँडेलले गरेका थिए।