किन गएनन् पशुपति शर्मा पदक थाप्न शीतल निवास ?

pashupati
लाेकपाटी न्यूज

काठमाडौं, ३ बैशाख । सोमबार विभिन्न विधामा योगदान र्पुयाएका १ सय ४३ जनालाई सम्मान गरिएको थियो । गृह मन्त्रालयले सिफारिस गरेको सुचीमा चर्चित लोक दोहोरी गायक पशुपति शर्माको पनि नाम थियो । तर, उनी पदक थाप्न शीतल निवास गएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान र्पुयाएका १ सय ४३ जनालाई हिजो विभिन्न पदकले सुशोभित गरिन् । उनी पदक थाप्न शीतल निवास नगएपछि ‘लूट कान्छा लुट’ गीतको कारण उत्पन्न विवादका कारण उनको पदक खोसिएको वा उनले नै बहिष्कार गरेको आशंका गरिएको छ ।

गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनामा पशुपतिको नाम अहिले पनि देखिन्छ । त्यसो भए किन उनी पदक थाप्न गएनन् त ? विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थसँग कुरा गर्दा उनले पशुपतिको नाम सुचीबाट नकाटिएको बताए ।

उनले पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए । ‘घुस खाँदा रंगेहात समातिएका एक कर्मचारीको पदक खोसिएको हो, त्यो बाहेक सबै १ सय ४३ जनाको नाम यथावत थियो,’ उनले भने ।

एक सय ४३ जनालाई नै पदक वितरणको तयारी गरिएको तर, उनीहरुमध्ये कसले लिए वा लिएनन् भन्ने विवरण आफूलाई प्राप्त नभएको पन्थ बताउँछन् । गृह मन्त्रालयले पदक वितरण हुनेबारे ९ दिन अगाडि सुचना प्रकाशित गरेको थियो । प्रकाशित सुचनामा पुरस्कृत हुने सबैलाई आफ्नो परिचयपत्रसहित चैत २६ गतेदेखि २९ गतेसम्म गृह मन्त्रालयको विभूषण शाखामा आएर प्रवेशपत्र लिन आग्रह गरिएको थियो ।

गायक शर्माले भने आफूलाई पदक वितरण हुने दिनबारे जानकारी नभएको र फोन पनि नआएको बताएका छन् । यस विषयमा पन्थीले मन्त्रालयका कर्मचारीहरुले फोन गर्दा शर्माले नउठाएको वा नलागेको हुन सक्ने उल्लेख गरे ।

केही समयअघि शर्माले गाएको लुट कान्छा लुट गीतको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आलोचना गरेका थिए । विवाद आएपछि शर्माले उक्त गीत यूट्यूबबाट झिके । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले मन नपराएपछि’ पशुपतिले गीत हटाएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्