विद्युत प्राधिकरणकै कर्मचारीलाई लाग्यो करेन्ट

लाेकपाटी न्यूज
0 Shares

वीरगञ्ज, ४ बैशाख । वीरगञ्जमा विद्युत प्राधिकरणकै कर्मचारीलाई करेन्ट लागेर घाइते भएका छन् । मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन मर्मत गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारी घाइते भएका हुन् ।

बाराको त्रिवेणी घर भएका विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका छन् । हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो । करेन्ट लाग्ने वित्तिकै उनलाई उपचारका लागि बहुअरीमै रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो ।

लाइन काटेर तार तान्ने क्रममा अचानक करेन्ट लागेको प्राधिकरणकै सवारी चालक शिवशंकर सिंहले जानकारी दिए। ‘हावाहुरीले तार चुडिएको थियो, लाइन काटेर तार तान्ने काम भइरहेको थियो’ उनले भने ‘अचानक करेन्ट प्रवाह हुन पुग्यो ।’

वीरगञ्ज हेल्थ केयरमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको अस्पतालका प्रबन्ध निर्देशक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्