विप्लव बन्द : बम र शंकास्पद वस्तुले जनजीवन त्रस्त

लाेकपाटी न्यूज

काठमाडौं, ५ वैशाख । नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । तर, काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको देखिदैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् ।

देशकै प्रमुख लाइफ लाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।

दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु मर्कामा परेका छन् । बन्दले प्रदेश ५ को जनजीवन पनि प्रभावित भएको छ । प्रदेश ५ का मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् ।

मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् । प्रदेश ५ का बाह्रवटै जिल्लाका लागि बस जीप छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट सवार्वजनिक सवारीसाधनहरु चलेका छैनन् ।

यसैबीच, विभिन्न स्थानमा भेटिएको बम तथा शंकास्पद वस्तुले जनजीवन त्रस्त बनेको छ । काभ्रेको पनौती ७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।