नेपाली स्याटलाइट दिनकाे १६ पटक पृथ्वी परिक्रमा गर्छ : मन्त्री पाेखरेल

Girirajmani Pokhrel
लाेकपाटी न्यूज

काठमाडौं, ०५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाली स्याटलाइटले दिनमा १६ पटक पृथ्वीको परिक्रमा गर्ने जानकारी दिएका छन्। उनले आजको दिनमा नेपालले इतिहास रचेको भन्दै नेपाली वैज्ञानिकहरुसँग सिङ्गो राष्ट्र हर्षित भएको विचार व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै यस्तो भनेका छन्, नेपाली समयअनुसार आज, बिहीबार विहान साढे २ बजे भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नेपाली झणडा अङ्कित नानो स्याटलाइटले इतिहास रच्दै आजको दिनलाई नेपाली भू–उपग्रह प्रविधिको विकासका लागि महत्वपूर्ण दिनको रुपमा स्थापित गरेको विश्वास लिएको छु।

अहिलेसम्म पूर्ण रुपमा अरुको स्याटेलाइटमा भर पर्नु परेको नेपाललाई, नाष्टको सहयोगमा बनाइएको र नेपाल स्याट वानु नाम राखिएको स्याटेलाइट आइएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा पठाइएको छ। यो स्याटेलाईटको प्रक्षेपणले नेपाललाई भू–उपग्रहमा पुर्णरुपले आत्मनिर्भर बनाउन नसक्ने भएपनि पहिलो पल्ट नेपाली विद्यार्थीहरु आभाष मास्के र हरिराम श्रेष्ठको टोलीले बनाएको र नेपालको झण्डा अंकित भू–उपग्रह अन्तरिक्षमा पठाइनु नेपालीहरुको लागि अत्यन्त खुसीको कुरा हो।

यो स्याटेलाइटले लो अर्बिट अन्तर्गत् पृथ्वीबाट ४ सय किलोमिटरको दूरीमा रहेर पृथ्वीलाई परिक्रमा गर्नेछ र एक पटक परिक्रमा गर्नको लागि यसलाई ९० मिनेट लाग्ने जानकारीमा आएको छ भने यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । यो १६ पटक पृथ्वीको परिक्रमा गर्ने क्रममा यसलाई पृथ्वीको भूतलको फोटो खिच्ने कामको लागि प्रयोग गर्न सकिनेछ र यसले नेपालमा रहेका रुख विरुवाहरुको र यहाँको भौगोलिक अवस्थाको तस्वीरहरु मात्रै लिन सक्ने बताइएको छ।

अन्त्यमा, नेपाली युवा वैज्ञानिकहरुको सफलताले सम्पूर्ण राष्ट्र हर्षित छ। यस परियोजनालाई सफल बनाउन मद्धत गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु र मलाई आशा छ आगामी दिनहरुमा हाम्रो वैज्ञानिकहरुले राष्ट्रको समृद्धिको यात्रालाई सही गति र दिशा दिने खालका सफल कार्यहरु सम्पन्न गर्नेछन्, यसमा सरकारको पुर्ण साथ सहयोग रहने पनि विश्वास दिलाउन चाहन्छु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्