काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले समाजमा महिलाबाट पीडित पुरुषहरुको ठूलो संख्या रहेको बताएकी छिन्। आफ्नो २ वर्षे कार्यकालको न्याय सम्पादनको अनुभव सुनाउँदै उनले यस्तो बताएकी हुन्।
संविधानले स्थानीय तहका उपप्रमूखहरुलाई न्यायाधीशको जिम्मेवारी सुम्पिएको छ। आफूकहाँ आउने मुद्दाको प्रकृति हेर्दा समाजमा पुरुषहरु पनि पीडित हुँदै गएको अनुभव उनले सुनाइन्। एक सञ्चार माध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै पाख्रिनले यस्तो बताएकी हुन्।
‘सिन्धुपाल्चोक जिल्लाका पालिकाहरुमध्ये सबभन्दा धेरै उजुरी आउने बाह्रबिसे नगरपालिका नै होला’ पाख्रिन भन्छिन्, ‘हामीले संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार मुद्दा हेर्ने हो। त्यसमा पनि हामी मेलमिलाप गराउनेमा केन्द्रित हुन्छौं। र पनि, यो अपजसे काम त हो नै।’
उनले भनेकी छिन्, ‘सबैभन्दा धेरै उजुरी श्रीमान–श्रीमतीका झगडा आउँछन्। म योसँग बस्नै सक्दिनँ भन्दै आउँछन्। हामीसँग एक त सम्बन्ध बिच्छेद गराउने अधिकार छैन, अर्को आवेशमा गरेको निर्णय ठीक हुँदैन । त्यसैले, सकेसम्म मेलमिलाप गराउनतिर लाग्छौं। घरेलु झगडापछि जग्गाको साँध सीमाना मिचेको, रुख काटिदिएको आदि उजुरी आउँछन्।’
‘श्रीमान–श्रीमतीको झगडाका मुद्दा बढी आउनुमा वैदेशिक रोजगारीको प्रभाव परेको देखियो’ उनी थप्छिन्, ‘यस्ता मुद्दामा पुरुष पनि पीडित रहेको पाइयो। कतिपय श्रीमान यहाँ घरमा बच्चा हेरेर बसिरहेका छन्। तिनका श्रीमती वैदेशिक रोजगारीबाट फर्केपछि घर नगएको देखियो। श्रीमानले घर आउन भन्दा श्रीमती माइत वा अन्यत्र गएको उजुरी पनि आउने गरेका छन्।’
‘श्रीमान सोझो भएको फाइदा उठाएर श्रीमतिले अर्को पुरुषसँग सम्बन्ध राखेको उजुरी पनि आएका छन्’ उनी भन्छिन्, ‘एकजना केटाले लाखौं खर्च गरेर धुमधामसँग विहे गरेछन्। केही समयपछि उनको नवदुलहीले सुटुक्क अर्को केटासँग बिहे गरिछन्। त्यस्तो उजुरी पनि आयो। त्यस्तोमा दुवैका परिवार राखेर केटालाई क्षतिपूर्ति दिलाउने प्रयास गरियो।’