बारा, ८ वैशाख। बाराको जीतपुर–सिमरामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ।
यसअघि काममा ढिलाइ हुँदा केही अन्योल देखिएको भए पनि पछिल्लो समय विमानस्थलको रेखांकन, पिलर, तारबार र तटबन्धनको काम अन्तिम चरणमा पुगेपछि आयोजनाको कामले गति लिएको हो।
केही समयअघि रुख काट्ने विषय निकै विवाद हुँदा अन्योल देखिएको बहुप्रतिक्षित निर्माणाधीन बाराको निजगढ विमानस्थलको कामले पछिल्लो समय गति लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको विमानस्थललाई तोकिएको समयमै सम्पन्न गर्ने उद्देश्यका साथ काम अगाडि बढाइएको हो।
पहिलो चरणमा गर्नुपर्ने काम करिब–करिब अन्तिम चरणमा पुगेको छ। त्यस्तै विमानस्थल क्षेत्रभित्रका बस्तीलाई अन्यत्र सार्न मुआब्जा वितरणको काम सकिन लागेकोे र आधार दर्जनजति व्यक्ति सम्पर्कमा नआएकाले मुआब्जा दिन बाँकी रहेको आयोजनाले जनाएकोे छ।
६३ किलोमिटर क्षेत्रमा अस्थायी तारबार र पसाह खोलामा तटबन्धनको काम आधाभन्दा बढी सकिएकाले आगामी आर्थिक वर्षबाट धावनमार्ग निर्माणको काम सुरु गर्ने तयारी गरेको आयोजनाका प्रमुख ईन्जिनियर ओम शर्मा बताउँछन्।
विमानस्थलको धावनमार्ग बनाउने ठाउँमा रहेको टांगिया बस्तीलाई लालपूर्जा नभएकाले स्थानान्तरणका लागि समस्या भए पनि सम्भावित क्षेत्रको खोजीमा सरकारले चासो देखाएको छ। विमानस्थल निर्माणका लागि ११ हजार ८७५ बिगाहा क्षेत्रफल आबश्यक पर्ने छ।
सरकारले २०६४ सालमा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो। विमानस्थल निर्माण गर्न ठूला साना गरी करिब सात लाख रुख काट्नुपर्ने भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिइएको छ।
डीपीआर निर्माणका लागि ६ कम्पनीले चासो राखेको र तयार भएपछि सोहीअनुसार विमानस्थल निर्माणलाई अगाडि बढाउने तयारी रहेको छ।