समृद्ध लिस्तीकोट निर्माण अभियान : उग्रचण्डी भगवती गुरुयोजना सार्वजनिक

10
लाेकपाटी न्यूज

काठमाडौं, ८ बैशाख । समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक गरिएको छ । लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ सिन्धुपाल्चोकले आइतबार रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका वडा नम्बर–१ मा अवस्थित् लिस्तीकोट धार्मिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपुर्ण स्थल हो । लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर यस भेगकै सम्पूर्ण धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने पवित्र उद्देश्यकासाथ उग्रचण्डी भगवती गुरुयोजनाको निर्माण गरिएको आयोजकको दाबी छ ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका सांसद् अग्नि सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताएका छन् । कृषि विकास नै नेपालको विकासको आधार भएपनि धार्मिकस्थल तथा पर्यटकीय स्थलको पनि प्रमुख भूमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहासिक जिल्ला भएको स्मरण गराए ।

त्यस्तै कार्यक्रममा बोल्दै पुर्वन्यायाधिवक्ता मुक्ति प्रधानले लिस्तीकोट एक धार्मिक तथा साँस्कृतिक पर्यटन बोकेको क्षेत्र रहेको धारणा राखेका थिए । प्रस्तावित गुरुयोजनाअनुरुप लिस्तीकोटको विकासमा जोड दिनसके समग्र सिन्धुपाल्चोक नै यसबाट प्रभावित हुने उनको धारणा थियो ।

त्यस्तै, कार्यक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले गुरुयोजनालाई कसरी सफल बनाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् । आफुहरुसँग धेरै नै धार्मिक तथा पौराणिक स्थलहरु रहेको बताउँदै उनले त्यसबाट लाभ लिन सबैले आ–आफ्नो स्थानबाट सहयोग र प्रचार–प्रसारमा जोड दिन आवश्यक रहेको आंैल्याए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता सरल सहयात्री पौडैलले भोटेकोशी गाँउपालिका तातोपानी नाकाले मात्र प्रसिद्ध नभएर थुपै्र ऐतिहासिक तथा धार्मिक स्थलले भरिपुर्ण गाँउपालिका रहेका बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै ई.पदमलाल श्रेष्ठले सम्पन्न गुरुयोजना बजेट अभावको कारण अलपत्र नपारोस भनि सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए । उनले सार्वजनिक गुरुयोजनामा कुनै कमीकमजोरी हुन सक्छन्, तर तीनै कमजोरीहरुलाई कारण बनाएर आफूहरु पछि हट्न नहुने बताए।

त्यस्तै कायैक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले गाँउपालिकाको विकासमा निकै नै महत्वपूर्ण कार्यको थालनी भएको बताए । राष्ट्र निमार्णमा यस्ता गुरुयोजनाहरुले महत्वपुर्ण योगदान दिने बताउँदै उनले सबै मिलेर योजना सम्पन्न गर्न आवश्यक रहेको स्पष्ट पारे ।

त्यस्तै कायैक्रममा बोल्दै लिस्तीमाई गुठी संस्थानका कोषाध्यक्ष शंकर प्रधानले फ्रान्सका अनुसन्धानकर्ता तथा लेखक सिँल्भा लेभिले फ्रान्सेली भाषामा लेखेको पुस्तक ‘नेपाल हिन्दु राज्यको इतिहासको पहिलो खण्ड’ मा समेत लिस्तीकोटको इतिहासको बारेमा समेत प्रष्ट पारेको धारणा राखेका थिए । सन् १९०५ मा प्रकाशित उक्त पुस्तकमा नेपालको बिभिन्न ईतिहाँस समेटेको र जसमा लिस्तीकोटको समेत चर्चा भएको कारण यो क्षेत्रलाई कुटनीतिक दृष्टिकोणले समेत चासोको स्थान रहेको उनको भनाइ थियो ।

कार्यक्रमको अवसर पारेर समृद्ध ‘लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवती गुरुयोजना’ नामक पुस्तकको पनि विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्