कपिलवस्तु, ९ वैशाख । सरकारले हतियार बुझाउन दिएको अवधि सकिए पनि कपिलवस्तुमा जम्मा चारजनाले हतियार बुझाएका छन्।
विप्लव समूहको प्रभाव रहेको कपिलवस्तुमा एक महिनाको अवधिमा जम्मा चारजनाले हतियार बुझाएका हुन्। सरकारले हतियार बुझाउन आग्रह गरेपनि कपिलवस्तुका स्थानीयले भने हतियार बुझाउनदेखि नविकरणका लागि समेत कञ्जुस्याइँ गरेका छन्।
हतियार बुझाउन गरिएको सूचनापछि जिल्लामा एक महिनाको अवधिमा चार मात्र लाइसेन्स भएका हतियार बुझाइएको छ। कपिलवस्तुमा विभिन्न समयमा लाइसेन्सप्राप्त आठसय बढी बन्दुक रहेका छन्। यसमध्ये बर्सेनि ३१५ वटा नवीकरण हुन्छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार चालु आवमा २६० वटा बन्दुकको नविकरण गरिएको छ। बाँकी लाइसेन्स रहेका अधिकांश हतियार माओवादी सशस्त्र द्वन्द्वका क्रममा लुटिएको, बिग्रेको, आगलागीका क्रममा जलेको र लाइसेन्स हराएको हुँदा नियमित नविकरण हुन नसकेको प्रशासन शाखा प्रमुख नासु मोतिप्रसाद पोख्रेल भनाइ छ।
जिल्लामा चालु अवस्थामा लाइसेन्स प्राप्त ३००तथा अवैध रूपमा रहेका साना बन्दुक ५०० को हाराहारीमा छन्। जुन विप्लव नेतृत्वको प्रतिबन्धित दलका कार्यकर्ताको निशानामा छन्। देशभर रहेका वैध तथा अवैध हथियार सुरक्षा चुनौती बन्न सक्ने भन्दै सरकारले सबै त्यस्ता हतियार प्रहरीमा बुझाउन सूचना जारी गरेको प्रहरी उपरिक्षक अच्यूतमप्रसाद पुडासैनीले बताए। ‘हामीसँग एक महिनामा चारवटा मात्र हतियार आएका छन्। ती सबै लाइसेन्स भएका हुन्, उनले भने। भारतीय सीमानासँग जोडिएको कपिलवस्तु अवैध हातहतियार ओसार पसारको ट्रान्जिटको रुपमा पनि लिइन्छ ।’
खुला सीमानाको कारण यहाँबाट लुकिछिपी ल्याइएका साना हतियार प्यूठान, दाङ, रोल्पा, रुकुम, अर्घाखाँची, गुल्मी सम्म जाने गरेको छ। विप्लवको प्रभावित क्षेत्र समेत रहेको कपिलवस्तुमा अवैध हतियारकै विगविगी भइरहेको बेला लाइसेन्स रहेका ३०० बढी हतियारमा जम्मा चारवटा मात्र बुझाइनुले थप चुनौती बढेको सुरक्षाकर्मीहरू बताउँछन्। जिल्ला प्रहरी कार्यालयका अनुसार महाराजगञ्ज नगरपालिका, १ का जयप्रकाश पाण्डे, बुद्धभूमी नगरपालिका १ का बाहु थारु, सोहि नगरपालिका ६ का सिद्धिकी मनिहार र कपिलवस्तु नगरपालिका ४ का स्वतन्त्र श्रीवास्तवले मात्र हतियार बुझाएका छन्।
विप्लवको प्रभावित क्षेत्र शिवराज नगरपालिका, विजयनगर र कृष्णनगर क्षेत्रमा सबैभन्दा बढी अवैध तथा वैध हतियार भएको प्रहरी अनुमान छ। तर त्यहाँबाट एउटा पनि हतियार नआउनु शंकाको विषय भएको सुरक्षा अधिकारीहरूको भनाइ छ।