खुलामञ्च अतिक्रमणविरुद्ध सर्वसाधारण आन्दोलित

Aandolan
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ वैशाख । खुलामञ्च अतिक्रमण गरिएपछि स्थानीय सर्वसाधारण र सम्पदा संरक्षणका अभियान्ता आन्दोलित बनेका छन्।

काठमाडौं महानगरपालिकासँगको ‘सेटिङ’मा खुलामञ्च अतिक्रमण गरिएको भन्दै उनीहरु आन्दोलनमा उत्रीएका हुन्। बिहीबार खुलामञ्चमा नै उपस्थित भएर खुलामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गरेका छन्।

उनीहरुले ‘खुला मञ्चलाई खुला राखौं’ अभियान सुरु गरेका छन्। प्रदर्शनमा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानदेखि नयाँ शक्तिकी नेतृ मानुषी यमी भट्टराईसमेत सहभागी थिइन्। काठमाडौंको सीमित खुला क्षेत्र मध्येको एक खुलामञ्चमा हाल काठमाडौं महानगरपालिकाले बसपार्क चलाएको छ।

पुरानो बसपार्कमा ब्यापारिक टावर बनाउन दिएर महानगरपालिकाले खुलामञ्चलाई ठेकेदारको जिम्मामा छाडेको छ। ठेकेदार कम्पनीले खुलामञ्चमा अहिले ४० वटा नयाँ ब्यापारिक सटर हालेको छ। जसले गर्दा खुलामञ्च अतिक्रमणको शिकार हुन पुगेको छ।

विरोधपछि महानगरपालिकाले भने यस विषयमा हेर्न भन्दै उपमेयर हरिप्रभा खड्गीको नेतृत्वमा अनुगमन समिति बनाएको छ। तर, त्यसले अझै काम थालेको छैन। ठेकेदार कम्पनीले महानगरपालिकासँग कै सेटिङमा सटर हालेकाले ढुक्क हुन त्यहाँ पसल किनेका ब्यापारीलाई भनेको छ।

तर, वडा नम्बर २८का वडाध्यक्ष भाइराम खड्गीले भने ठेकेदारले गरेको खुलामञ्च अतिक्रमणको विपक्षमा उभिएका छन्। महानगरपालिकाले झण्डै ५ करोडको चलखेल गरेको उनीहरुले आरोप लगाएका छन्। उनीहरुले डोजर लगाएर सटरहरु नहटाएसम्म यो अभियान नरोक्ने बताएका चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्