चितवन, १२ वैशाख। अण्डा उत्पादक किसानहरुले बिहीबार नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा ताला बन्दी गरेका छन्।
अण्डाको मुल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप उनीहरुले तालाबन्दी गरेका हुन्।साथै उनीहरुले अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कंडेलको कुर्चीमा तोडफोड गरेका छन्।
विचौलियाको साँठगाठमा उत्पादक सघंपछि लागेको आरोप लगाउदैं किसानहरु आन्दोलनमा छन्। अण्डाको लागत मुल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ।
उनीहरुले भरतपुरको लायन्सचोकबाट पुलचोक हुदैं संघको केन्द्रिय कार्यालयमा विरोध र्याली समेत निकालेका थिए।
उनीहरुले समितिका पदाधिकारीको राजीनामा समेत माग गरेका छन्। अर्थहिन अण्डा संघ खारेज गर, पदाधिकारीले राजिनामा दे, अण्डाको मुल्य बृद्धि गर, तत्काल साधारणसभा आव्हान गर् लगायतका नारासहित प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन्।
आफ्नो मागको सुनुवाई नभए चरणबद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। पश्चिम चितवन अण्डा उत्पादक किसान समुहको आयोजनामा उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। यसअधि उनीहरुले सरोकारवाला निकायमा ध्यानाकर्षण गरिसकेका छन्।
त्यसैगरी चितवन क्षेत्र नं ३ का पुष्पकमल दाहाल प्रचण्डसहितका जनप्रतिनिधिहरुलाई समेत ध्यानाकर्षण गरिएको पश्चिम चितवन अण्डा उत्पादक किसान समुहका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।
उनले विचौलीको चलखेल रोकेर किसानको लागत मुल्य उठ्ने गरी मुल्य निर्धारण गर्नुपर्ने बताए। उनले अबको अन्दोलन सरकार र सरकारी नीति केन्दीत हुने बताए।