अझै भूकम्पको पराकम्प आइरहन्छ : विज्ञ

earthquake
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ वैशाख। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म पराकम्पन आइरहने विज्ञले जनाएका छन्। नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको छ।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ। भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए। ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण पराकम्पन आइरहने पौडेलले बताएका छन्।

जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत पराकम्पनले दिने उनले बताए। सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने पराकम्पन मात्र जाने उनले भने। जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ।

उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए। पश्चिम नेपालमा ५ सय वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ। भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्नेमा पौडेलले जोड दिए।