काठमाडौं, १४ बैशाख । सप्तरी, कञ्चनपुर, रौतहट र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(३ स्थित सडकमा को.१ ज ३५६२ नम्बरको गाडीले को.१५ प ५५४५ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका ३ पोर्ताह बस्ने २२ वर्षीय शंकर पगयाको भारदह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरीकै खड्क नगरपालिका ७ स्थित सडकमा स ५ प ४२४० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ९ बस्ने ७० वर्षीय छुतहरु दासको शुक्रबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दासलाई उपचारको लागि इन्द्रेणी पोलीक्लिनिक खरचुइया लगिएकोमा थप उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी सप्तरीकै कन्चनपुर नगरपालिका ९ स्थित सडकमा ना. ५ ख ७९३७ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका ८ बस्ने ६५ वर्षीय देव नारायण महतोको घट्नास्थलमै मृत्यु भएको छ । उक्त बस को १ ख ४१२३ नम्बरको ट्रकमा ठक्कर खाई अनियन्त्रित भई सडक छेउमा रहेको चिया पसलमा ठक्कर खाँदा चिया पिउन आएका महतोको मृत्यु भएको हो । साथै दुर्घटनामा पसलका संचालक र बसमा सवार ७ जना गरी ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई गोल्डेन अस्पताल बिराटनगर र ६ जनालाई स्थानीय क्लिनिकमा उपचारको लागि लगिएको छ । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्तीस्थित सडकमा धनगढीबाट पूनर्वासतर्फ जन्ती बोकेर जाँदै गरेको से।१ त २०६७ नम्बरको ट्याक्टरलाई से १ क ९८८ नम्बरको टिपरले शुक्रबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार बेलडाँडी नगरपालिका ४ बस्ने ४३ वर्षीया राम पियारी रानाको सिपि अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार चालक सहित अन्य ९ जनाको सोही अस्पतलामा उपचार भइरहेको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै रौतहटको दुर्गाभगवती गाउँपालिका ५ स्थित सडकमा बिआर ३० यु ३८९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ६५ वर्षीय मङनी रामको शुक्रबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बाँदरे मोडस्थित सडकमा बा ९७ प ४५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका(७ चरौदी बस्ने १९ वर्षीय बिशाल परियारको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।