रौतहट, १४ वैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारी कम्युनिष्टहरुको सरकार अब नटिक्ने बताएका छन्। उनले वर्तमान सरकारको आयुु लामो नरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
रौतहटको राजपुर फरहदवास्थित शनिबार आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले काण्डैकाण्डमा मुछिएका कम्युनिष्टहरुको सरकारले जनतालाई ठग्ने काम मात्र गरिरहेको आरोप लगाए ।
कम्युनिष्टहरुले समृद्धि र विकासको झुठा नारा दिएर जनतालाई ठगेको मात्र होइन अहिले सरकारमा लुटतन्त्र मचाइरहेको पनि बताए ।
अरबौं भ्रष्टाचार काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटारको जग्गा काण्ड, बाइडबडी काण्ड हुँदाहुँदै अहिले खुलामञ्च टुुँडीखेल बेच्नेमा सरकार लागिरहेको उनले प्रष्ट्याए।
उनले विपी कोइराला, गणेशमान, गिरिजाबाबु, मनमोहन सिंहजस्ता देशका नेताहरुले भाषण गरेको ठाँउ खुलामञ्चलाई बेच्ने खेलमा सरकार लागिरहेको बताए ।
हत्या हिंसाबाट सत्तामा आउने कम्युनिष्टहरु संसारबाट हराइरहेका बेला नेपालमा दुइतिहाईको सरकार हुनुु देशको लागि दुर्भाग्य रहेको उनको भनाइ छ ।
देशमा शान्ति सुरक्षा दिन नसकेको सुशासन र विकास दिन नसकेको कम्युनिष्टको सरकारमा अहिले नयाँ शोषकको जन्म भइसकेको नेता पौडेलेले बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओली पानीजहाजको कुरो गर्छन् । तर हामी पानीको मात्र कुरो गर्छौं । मेलम्चीको पानी काठमाडौंसम्म पुर्याएमा बागमतीमा पानी बढ्ने र उक्त पानीले तराईमा सिचाईं हुन्छ ।’
कांग्रेसले ल्याएको ठुला–ठुला योजनाको हाल वर्तमान सरकार उद्घाटन गर्न र फोटो खिचाउनमा व्यस्त रहेको उनको आरोप छ। २००७ सालमा राणाविरुद्वको आन्दोलनको सुरुआत रौतहटको सदरमुकाम पारी बैरगनियाबाट कांग्रेसकै नेतृत्वमा सुरु भएको इतिहास बताउँदै उनले कांग्रेससँग मधेस अलग हुनै नसक्ने दाबी गरे ।