भारतीय समूहले गर्‍यो आक्रमण

kutpit-1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ वैशाख। कञ्चनपुरमा भारतीय नागरिकहरुको एक समूहले नेपाली भूमिमा पसेर स्थानीयमाथि कुटपिट गरेका छन्।

शुक्रबार राति बेलौरी नगरपालिका १० सीमा क्षेत्रको भुडा गाउँमा पसेर स्थानीयमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट तारा चन्द घाईते भएका छन्। भारतीय नागरिक मेसु सिंह, शेर सिंह, होसियार सिंहको समुहले चन्दलाई कुटपिट गरेपछि हवाई फायरिङ समेत गरेको स्थनीयले बताएका छन्।

उनीहरुले बस्तीमा पसेर ज्यादती गर्दै त्रास नै मच्चाएको स्थानीयको भनाई छ। काठ तस्करीमा नेपाली पक्षबाट अवरोध गरेको निहुँमा कुटपिट र हवाई फायरिङ गरेको स्थानीय बताउँछन्। कुटपिटबाट घाइते ताराका बाबु राजु चन्दले एक्कासी बस्ती छिरेका भारतीयले छोरालाई आक्रममण गरेपछि एक राउड फायर गरेको बताए। टाउकोमा चोट लागेका तारा स्थानीय अस्पतालमा उपचार गरी घर फर्केका छन्।

स्थानीय गणेश थापाले काठ तस्करीमा कुरा नमिलेपछि भारतीय समुहले नेपालीमाथी आक्रमण गरेको बताए। सुरक्षाकर्मी घटनास्थल पुगेपछि भारतीय समुह भागेको थियो। चन्दले कुटपिट गर्ने भारतीय विरुद्ध प्रहरी चौकीमा निवेदन दिएका छन्। घटना मिलाउन दुवै देशका स्थानीय र प्रहरी अधिकारीले समन्वय गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्