चोरी भएका मोटरसाइकल खोज्न ट्राफिक प्रहरीले बढायो सक्रियता

Traffic Police
लाेकपाटी न्यूज

काठमाडौं, १५ बैशाख । काठमाडौं महानगरपालिका–६ बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला र्पयो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्याई मोटरसाइकल खतिवडालाई बुझायो । दैनिक काम समेत अवरूद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि भावुक हुँदै प्रहरीले जनताका लागि गरेको कामप्रति उनले खुशी व्यक्त गरे ।

त्यसैगरी धादिङ सेर्तुङ–३ निवासी बेमान तामाङको मोटरसाइकल पनि चोरी भयो । मोटरसाइकल चोरी भएपछि दैनिक रुपमा काम गर्न निकै समस्या र्पयो । उनले प्रहरीमा उजुरी दिए । ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धान गर्दै जाँदा चोरी गरी लुकाएर राखेको स्थानबाट मोटरसाइकल फेला र्पयो । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनी अझै बढी खुशी भए । चोरी भएको मोटरसाइकल यसरी फेला पर्छ भन्ने लागेकै थिएन उनले भने, “प्रहरीले गरेको काम देखेपछि प्रहरीप्रति पूर्ण विश्वास लाग्यो ।”

खतिवडा र तामाङ जस्तै धेरैको मोटरसाइकल चोरी हुने गरेको छ । यो क्रमलाई रोकथाम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले कार्ययोजना नै बनाएर काम गर्न अगाडि बढेको छ । यस सम्बन्धमा महाशाखाका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त भन्छन्, “चोरी भएका मोटरसाइकल खोजतलासको काममा पीडित सहायता इकाईका प्रहरी कर्मचारीहरू सादा पोसाकमा खटिन्छन् । शंकास्पद मोटरसाइकल जाँच गर्ने, वर्कशपमा चेक गर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गर्ने र चोरीको हो वा होइन पत्ता लगाउने गरिन्छ । पीडितको निवेदनको आधारमा कम्प्युटर फाइलमा इन्जिन नम्बर तथा चेसिस नम्बरको खोजी समेत गरिन्छ । यसबाट हराएको र नहराएको एकिन हुन्छ ।

विशेष गरी लक भाँचिएको, वायरिङका तारहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको मोटरसाइकल बारेमा थप अनुसन्धान हुन्छ । मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । समय समयमा सचेतनामूलक पर्चा वितरण पनि गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा घर कम्पाउण्डको ताला फुटाएर मोटरसाइकल चोरी हुने गरेको भेटिने गरेको छ ।

चोरीका मोटरसाइकल प्रायः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसार पसार गर्ने काममा प्रयोग हुने गरेको पाइन्छ । राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्नमा समस्या देखिएको छ । चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिने प्रहरी वरिष्ठ उपरीक्षक पन्त बताउँछन्।

चालु आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल चोरी भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन् । फेला परेकामध्ये २ सय ६३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ । बाँकी ३० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन वाँकी छन् । चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको छ ।

यसैगरी आ.व.२०७४÷०७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो । ३ सय ४१ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाएको थियो भने ८३ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको थियो । वाँकी ८९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउन वाँकी छन् । ट्राफिक प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको थियो ।

काठमाडौंको बौद्ध, जोरपाटी, पेप्सीकोला, बानेश्वर, कोटेश्वर, चावहिल, गौशाला, महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपर, बुढानिलकण्ठ, ठमेल, सुन्धारा, बालाजु, कलंकी, पुल्चोक, ग्वार्को, जावलाखेल र लगनखेलबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन् । उपत्यका बाहिर बिर्तामोड, दमक, विराटनगर, धरान, इनरुवा, सप्तरी, रौतहट, कास्की, रुपन्देही, सुर्खेत र कैलाली लगायतका विभिन्न ठाउँबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को परिच्छेद २०, धारा २४१ को कसुरमा मोटरसाइकल चोरी गर्ने वा गराउने व्यक्तिलाई सोही परिच्छेदको धारा २४२ अन्तर्गत दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

चोरी हुने गरेका मोटरसाइकल ट्राफिक प्रहरीले सक्रिय भएर खोजी तथा अनुसन्धान गरी सम्बन्धित धनीलाई बुझाउँदै आएको छ । चोरीमा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्दै आएको छ । साथै मोटरसाइकल चोरीलाई रोकथाम गर्न विभिन्न ठाँउमा खटिएर डिउटी गर्ने ट्राफिक प्रहरीले जथाभाबी पार्किङ नगर्न आग्रह गर्दै आएको छ । मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमि आउने ट्राफिक प्रहरीको अपेक्षा छ ।

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा समेत ट्राफिक प्रहरीले फेला पारी पक्राउ गरेको छ । चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर र्गयो त्यति नै छिटो मोटरसाइकलको खोजी तथा अनुसन्धान हुने गरेको छ । चोरी भएको लामो समयपछि खबर गर्दा मोटरसाइकल अन्य स्थानमा लैजाने र चोरी गर्ने व्यक्ति समेत भाग्न सक्ने भएकाले तत्काल ट्राफिक प्रहरीलाई खबर गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्