महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम रोकिँदै

pic 4
लाेकपाटी न्यूज

कञ्चनपुर, १६ वैशाख। महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम रोकिने अवस्थामा पुगेको छ। बजेट अभाव भएपछि आयोजनाको तेस्रो चरणको काम रोकिने अवस्थामा पुगेको हो।

बजेट अभावले काम गरेको भुक्तानी दिन नसक्ने अवस्थामा पुगेपछि आयोजनाअन्तर्गत मूल नहर निर्माणको काम रोकिने अवस्थामा पुगेको हो। समयमै बजेट नपाउँदा तोकिएको काम पुरा गर्न नसकिएको र बजेटका लागि पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले बताए।

उनले निर्माण सम्पन्न भएको कामको करिब २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै समयमै भुक्तानी दिन नसकेकाले आयोजनाप्रतिको विश्वाससमेत घट्दै गएको बताए। महाकाली सन्धिअनुसार टनकपुरबाट पाउने एक हजार क्युसेक पानीले ३३ हजार ५ सय हेक्टर जमिनमा सिँचाइ र्पुुयाउने लक्ष्यका साथ सुरु गरिएको आयोजनाले सुरुवाती अवस्थादेखि बजेट अभावका कारण गति लिन सकेको छैन्।

२०६३ सालमा ३३ अर्ब रुपैयाँ लागतमा सुरु गरिएको आयोजनाको हालसम्म २ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयले जनाएको छ। १२ बर्षमा १३ किलोमिटर मूल नहर निर्माण गरेको आयोजनाको भौतिक प्रगति ७ प्रतिशत मात्रै रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्