महिलाद्धारा सामुदायिक भवन निर्माण

samudaek bhawan
लाेकपाटी न्यूज
0 Shares

बागलुङ, १६ वैशाख। बागलुङको बडिगाड गाउँपालिकाका महिलाले आफ्नै सक्रियतामा सामुदायिक भवन निर्माण गरेका छन्। समुदायमा हुने हरेक क्रियाकलाप सञ्चालनका लागि सामुदायिक भवनको आवश्यकता महसुस गर्दै महिलाले बडिगाड गाउँपालिका ३ सिसाखानीमा सामुदायिक भवन बनाएका हुन्।

आमा समूहमार्फत श्रमदान जुटाएर भवन निर्माण थालेका महिलालाई वडा कार्यालयले रु दुई लाख अनुदान दिएको थियो। भवन निर्माणका लागि आमा समूहको नेतृत्वमा साविक सिसाखानी वडा नम्बर १ का प्रत्येक घरधुरीले ८० प्रतिशत जनश्रमदान गरेका समूहका अध्यक्ष ललिता रानाले जानकारी दिए।

६५ परिवारको बसोबास रहेको उक्त क्षेत्रमा बनेको सामुदायिक भवनका कारण स्थानीयलाई सामाजिक क्रियाकलाप सञ्चालनमा सहज हुनेछ। झण्डै तीस जना महिला आबद्ध रहेको आमा समूहले गाउँमा हुने विवाह, व्रतबन्ध, पूजापाठलगायतका कार्यक्रममा नाचगान गर्दै रकम सङ्कलन गर्दै आएका थिए।

श्रमदान र वडा कार्यालयले दिएको अनुदानबाट अपुग रकम आफ्नै सञ्चितकोषबाट खर्च गरेको अध्यक्ष रानाले जानकारी दिए। मगर बस्तीको रुपमा चिनिएको उक्त ठाउँका महिलाले आगामी दिनमा महिला सशक्तीकरण, घरेलु हिंसालगायतमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको समूहका सक्रिय सदस्य धनमाया पुनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्