संखुवासभा, १६ वैशाख। संखुवासभामा विवाह गर्न लागेका एक जोडी बेहुला-बहुलीलाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको छ।
शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुली सहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीय जित बहादुर तामाङ, बुवा कैलाशपति तामाङ, बेहुली र उनको बुवा तिर्थ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए।
शनिबार बाजा–गाजासहित विवाह गर्न लागेका जोडीलाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ परेको हो। बाल विवाह हुँदै गरेको सुचना पाए लगत्तै प्रहरीे टोली पांठा पुगेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका ४ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेकोे छ।
यता बेहुलीका आफन्तले बेहुलीको २०५६ साल वैशाख ३ गते जन्म भएकाले २० वर्ष पुरा भइसकेकाले विवाह गरेको बताएका छन्। पक्राउ परेकी बेहुली २० बर्ष पुगे नपुगेको जन्म दर्ताको खोजी नगरपालिकाले गरे पनि पुरानो डाटा अहिलेसम्म नभेटिएको वडा अध्यक्ष दयानिधि बरालले जानकारी दिए।
उनले जानुकाको जन्म दर्ताको खोजी गरे पनि नगरमा नभेटिएकाले माथिल्लो निकायको मन्त्रालयमा खोजी गर्ने आग्रह गरेको बताए। मण्डपबाटै बेहुला बेहुला पक्राउ परेको जिल्लामा यो दोस्रो घटना हो।