भृकुटीमण्डप छाेड्न फनपार्कलाई पठाइयाे पत्र, यस्तो छ कारण

fun park
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । समाज कल्याण परिषदले काठमाडौं फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता एकतर्फी रुपमा खारेज गरेको छ । प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता खारेज गरिएको परिषदले जनाएको छ।

समाज कल्याण परिषदको स्वामित्वमा रहेको उक्त जग्गा काठमाडौं फनपार्क प्रा.लि. ल्यामपुचः र हरित कृषि सहकारीले सम्झौता गरेर भाडामा लिएका थिए । फनपार्कले ६० रोपनी, ल्यामापुचःले २५ रोपनी र हरित कृषि सहकारीले ८.५ रोपनी जग्गा उपभोग गर्दै आएका छन् ।

सो ठाउँमा काठमाडौं फनपार्क र ल्यामपुचःले बालबालिका लक्ष्यित खेल सामग्री तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिरहेका छन् । उनीहरुले सस्तोमा जग्गा भाडामा लिएर बालबालिकाहरुसँग महंगो शूल्क असुल्दै आएका छन् । हरित कृषि सहकारीले टुकुचा तरकारी बजार सञ्चालन गरिरहेको छ ।

समाज कल्याण परिषदमा अनियमितता भएको विषयमा छानविन गर्न सरकारले गठन गरेको समितिले जग्गा भाडा सम्झौतामा अनियमितता भेटिएको भन्दै प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा सम्झौता रद्दको एकतर्फी निर्णय गरिएको परिषदले जनाएको हो। परिषदले काठमाडौं फनपार्क र ल्यामपुचःलाई १५ दिन अगाडि नै पत्र काटेर सम्झौता भंगको जानकारी गराइसकेको र हरितकृषि सहकारीलाई पनि पत्र पठाइसकेको बताएको छ।

सम्झौता भंग गरिएका तीनै पक्षलाई पत्र प्राप्त मितिले ६० दिनभित्र उक्त जमिन खाली गर्न परिषदले सूचित गरेको छ ।तर, फनपार्कको २५ रोपनी जमिन ०५३ सालदेखि प्रयोग गर्दै आएको ल्यामपुचःले पत्र बुझ्न अस्वीकार गरेको परिषदले जनाएको छ । ०५३ सालमा ल्यामपुचःसँग २५ वर्षका लागि ०६९ सालमा काठमाडौं फनपार्कसँग १५ वर्षका लागि र ०७४ असोज ३० मा हरित कृषि सहकारीसँग २५ वर्षका लागि करार गरिएको थियो ।

विभिन्न समयमा भएका फरक–फरक सम्झौताअनुसार यी तीनवटै पक्षलाई तोकिएको भाडादर अस्वभाविका रुपमा सस्तो थियो । सम्झौताअनुसार फनपार्कले परिषदलाई मासिक ६ लाख १० हजार रुपैयाँ भुक्तानी गर्छ । यस्तै ल्यामपुचःले परिषदलाई मासिक १३ हजार २६७ रुपैयाँ र त्यहाँ सञ्चालित रेल टिकटको ५ प्रतिशत रकम बुझाउने सर्तमा २५ वर्षका लागि भाडामा पाएको थियो ।

ल्यामपुचःसँगको परिषदको सम्झौता सकिन २ वर्ष मात्रै बाँकी छ । हरित कृषि सहकारीले मासिक ११ लाख ९६ हजार ९ सय रुपैयाँ बुझाउने सर्तमा तरकारी बजार सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्