सार्वजनिक भयो आइएस प्रमुख बग्दादीको भिडियो

5
लाेकपाटी न्यूज

(एजेन्सी) । इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दाबी गरिएको छ।

भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन्। यदि उनी बग्दादी नै हुन् भने विगत पाँच वर्षमा उनको यो पहिलो भिडियो हो। बग्दादीले सन् २०१४ मा पछिल्लो पटक भिडियो जारी गरेका थिए।

त्यसयता सुरक्षा कारवाहीमा उनी घाइते भएको, मारिएको जस्ता चर्चा भए पनि उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन्। भिडियोमा इराकको बागुजमा आइएस पराजित भएको स्वीकार गरिएको छ।

आइएसको अन्तिम गढ मानिएको बागुज आफूहरुको नियन्त्रणबाट गुमेको स्वीकार गर्दै उनले बागुजमा आइएसको पराजयको बदला लिन श्रीलंकामा हमला गरिएको बताएका छन्।

१८ मिनेट लामो भिडियोमा उनले बागुजको युद्ध समाप्त भएको स्वीकार गरेका छन्। तर बागुजमा लडाई समाप्त भए पनि त्यसपछि हुने धेरै कुरा बाँकी रहेको बताएका छन्। आइएसको मिडिया नेटवर्क ‘अल फुरकान’ मा पोस्ट गरिएको सो भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने प्रष्ट छैन्।

तर श्रीलंकामा गरिएका ताजा हमलाका बारेमा चर्चा गरिएका कारण उक्त भिडियो हालै रेकर्ड भएको अनुमान गरिएको छ। इराकबाट आइएस पराजित भएको भनिए पनि उसले अझै विश्वका विभिन्न मुलुकमा हमला गर्न सक्छ भन्ने सन्देश दिनका लागि उक्त भिडियो सार्वजनिक गरिएको हुन सक्ने विश्लेषकहरु बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्