एजेन्सी। जासुसीको आरोप लागेका एक व्यक्तिले टर्कीको जेलमा आत्महत्या गरेका छन् । यसबारे टर्कीको सरकारी एजेन्सी एनादोलुले सोमबार जानकारी दिएको हो।
तर, ती युवकका दाइले उनको हत्या भएको बताउँदै भाइको बदनाम गरिरहेको दाबी गरेका छन्। टर्कीका मुख्य अभियोजकले मृतकको पहिचान जाकी हसनको रुपमा गरेका छन्। उनलाई राजनीतिक र सैन्य जासुसीका लागि राज्यको गोप्य दस्तावेज राखेको आरोपमा पक्राउ गरिएको हो।
हसनका आफन्तका अनुसार उनीलगायत अन्य एक व्यक्तिलाई अप्रिल ४ र ५ तारिखमा पक्राउ गरिएको थियो। यूएईको जासुसीको आरोप लागेका यी दुई कतै जमाल खसोग्गीको हत्यामा संलग्न त छैनन् भनेर पनि अनुसन्धान भइरहेको टर्कीका अधिकारीलाई उद्धृत गर्दै एनादोलुले बताएको छ।
अभियोजकका अनुसार इस्तानबुल सिलिभ्री प्रिजनका सुरक्षाकर्मीले बिहान १० बजेर २२ मिनेट जाँदा खाना बाँड्न जाँदा हसनलाई देखेका हुन्।अभियोजकको कार्यालयले अनुसन्धान थालनी गरिएको जानकारी दियो। सिएनएनले यसबारे प्रतिक्रिया माग्दा यूएईले बोल्न अस्विकार गरेको छ । उनका परिवारका अनुसार हसन ९ सन्तानका प्यालेस्टिनी पिता हुन्। उनी गुप्तचरका अवकाशप्राप्त प्रमुख हुन् । उनी गाजास्थित प्यालेस्टिनी निकायका लागि काम गर्दथे।
हसनलाई बुल्गेरियामा राजनीतिक शरण दिइएको थियो साथै मार्चमा उनको प्यालेस्टिनी पासपोर्टमा टर्कीमा बस्ने अनुमती दिइएको थियो। ‘मेरा भाइ सहिद हुन् । उनको बदनाम गरिएको छ । उनीहरुले मेरो भाइको हत्यामात्रै गरेनन्, उनको बदनामसमेत गरिरहेका छन्,’ उनका दाइले भने ।
‘उनी ९ सन्तानका पिता थिए, राजनीतिक विज्ञानमा विद्यावारिधी गरेका र गुप्तचर निकायका अवकाशप्राप्त प्रमुख थिए । पक्राउ परेका दोस्रो व्यक्ति समर साबान भएको बताइएको छ । उनकी श्रीमती समिह साबानले समरले सन् २००८ मा गाजा छोडेको बताइन् । पछि हमासले उनीमाथि प्यालेस्टिनी प्रधानमन्त्री इस्मेल हानिएको हत्याको षड्यन्त्र रचेको आरोप लगाएको थियो तर उनका परिवार उक्त आरोप ठाडै अस्विकार गर्छन् ।
‘म मेरा श्रीमान्को तत्काल रिहाई चाहन्छु । उनको यसमा कुनै पनि संलग्नता देखिँदैन । यस्तो झुटो आरोपविरुद्ध लड्नका लागि टर्की सरकार र मिडियाले सघाउनु पर्छ,’ साबानले भनिन् ।उनलाई संयुक्त अरब इमिरेट्स (यूएई) को जासुसी गरेको आरोप लागेको थियो।