काठमाडौं, १७ वैशाख। नयाँ शक्ति पार्टी जुम्लाका पूर्व संयोजक धिरज महत निलम्बनमा परेका छन्। उनी संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित प्रक्राउ परेपछि निलम्बनमा परेका हुन्।
पार्टीका पूर्व संयोजक महत पार्टी नीति र नियम विपरित कार्यमा संलग्न रहे पनि पार्टीको कुनै संलग्नता नरहेको पार्टी जुम्लाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्ती जारी गर्दै पार्टीले पूर्व संयोजक महत व्यक्तिगत लोभमा पार्टीलाई बदनाम गरेको भन्दै ध्यानाकर्षण गराएको छ।
पार्टीको हित विपरित कार्यमा संलग्न महतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने उल्लेख गरिएको छ । जिल्ला वन कार्यालय बाँकेका रेन्जर रमेश बुढाथोकीले अहिले कार्यालयले थप अनुसन्धान गरिरहेको बताए। अनुसन्धान क्रममा पक्राउ परेका महतले आफूसँगै थप दुई जनाको संलग्नता रहेको बताएका छन्।
महत गत ०७५ चैत १८ गते बाँके जिल्लाबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ परेका थिए।