भ्रमण वर्ष २०२० सफल पार्न सहयोग गर्नुुस् : मन्त्री भट्टराई

  • 274
    Shares
0

काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमूखहरुसँग आग्रह गरेका छन्। मन्त्री भट्टराईले राजदूत र वैदेशिक साझेदार संस्था प्रमूखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भने, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार-सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।’

अब सरकारको विदेश सम्बन्धममा पर्यटन कुटनीति पनि महत्वपूर्ण पाटो रहने उनको भनाइ छ। भ्रमण वर्ष २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण भूमिका हुने भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे। ‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु।

मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष-२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस्।’ मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका लागि अनुरोधसमेत गरे।

मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभूकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’

मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका नेपालका ८ सय ९१ सम्पदा मध्ये ३ सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेको जानकारी दिए। बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्रवान गरे।

Comments
Loading...
You might also like