बजेटले जनताका अपेक्षा सम्बोधन गरेको छ : अर्थमन्त्री डा. खतिवडा

yubraj khatiwada01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ जेठ । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् । उनले बजेट सार्वजनिक भएसँगै जनताको तत्कालिन र दीर्घकालिन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको बताएका हुन् ।

बिहीबार अर्थ मन्त्रालयका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग संयुक्त पत्रकार सम्मेलन गर्दै उनले जनताको तत्कालिन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको बताए । उनले जनताको दीर्घकालिन समस्या समाधानका लागि कृषि, उद्योग, पर्यटन, उर्जा क्षेत्रको विकासमा जोड दिइएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षभित्र ७० वटा जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्न ५ अर्ब बजेटको व्यवस्था गरेको पनि स्मरण गराए । त्यसैगरी स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पुर्‍याइएको बताए ।

बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिएको बताउँदै उनले गरिब र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

अर्थमन्त्री खतिवडाले राज्यले संरक्षण गर्नुपर्ने नागरिकहरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत दिइँदै आएको भत्तामा वृद्धि गरिएको पनि बताए । युवा परिचालन, महिला हिंसा अन्त्य लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको छ । उनले कृषिलाई आधुनिकीकरण गर्न कृषि कर्जाको व्यवस्था बजेटमा गरिएको पनि बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्