भरतपुरमा ४४ बिघा जग्गा संरक्षण, सबै जग्गा संरक्षण गर्छौं : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज
0 Shares

नारायण अधिकारी, चितवन। देशभर सार्वजनिक जग्गा अतिक्रमणका घटना सार्वजनिक भइरहेका बेला भरतपुर महानगरपालिका संरक्षणमा लागेको छ। महानगरले एक वर्षअघि सार्वजनिक जग्गा खोजबिन व्यवस्थापन समिति गठन गरी संरक्षणमा लागेको हो।

महानगरपालिकाले हालसम्म ४३ बिघा ११ कट्ठा १७ धुर जग्गा खोजबिन गरी संरक्षण गरिसकेको छ। समितिका संयोजक एवं वडा नं १० का अध्यक्ष अरुणपीडित भण्डारीका अनुसार समितिले जग्गा खोजी गरी विस्तृत विवरणसहितको बोर्ड राख्ने काम गरिरहेको छ। महानगरपालिकाले दिएको जानकारीअनुसार वडा नं–२ को पुङ्गीखोला नजीक ६ कट्ठा १० धुर, वडा नं–३ अन्तर्गत शान्तिमार्गस्थित ६ धुर, सोही वडाको मजुवा क्षेत्रमा ३५ बिघा ११ कट्ठा ११ धुर, वडा नं–४ को त्रिचोकमा सात धुर जग्गा खोजबिन गरी संरक्षण गरिएको छ।

यसैगरी वडा नं–४ र ५ को सिमानामा रहेको बुढाथोकी घोलमा पाँच कट्ठा, वडा नं–१० को चित्रसेन टोलमा ६ धुर, वडा नं–११ को लामागाउँमा ६ कट्ठा, वडा नं–१२ को धनगढा मन्दिर नजीक तीन कट्ठा १५ धुर, वडा नं–२० को गौचरन अगाडि तीन कट्ठा १० धुर, वडा नं–२१ को मणिपुरमा १७ कट्ठा, वडा नं–२२ को घडगाईमा चार बिघा १० कट्ठा, राप्ती किनारमा तीन कट्ठा १० धुर, पदमपोखरीको दुर्गामन्दिर नजीक पाँच कट्ठा दुई धुर र वडा नं –३ को खड्गौली चोक नजीक १९ कट्ठा जग्गा संरक्षण गरिएको छ।

भण्डारीले ती जग्गा व्यक्ति र संस्थाले चर्चेको, झाडी अवस्थामा रहेको पाइएको बताए। सबै वडा कार्यालयमार्फत सूक्ष्म रुपमा जग्गाको खोजबिन भइरहेको छ। महानगरभित्र कम्तीमा पाँच सय बिघा सार्वजनिक जग्गा संरक्षणविहीन अवस्थामा रहेको अनुमान गरिएको उनले बताए। महानगर प्रमुख रेनु दाहालले सार्वजनिक जग्गाको खोजबिन र संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले झण्डै एक वर्षयता समिति गठन गरी काम भइरहेको बताइन्।

देशका प्रमुख शहरमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको समाचार सार्वजनिक भइरहेका बेला महानगरले भने एक वर्षअघि देखि नै गरिरहेको काम सार्थक बन्दै गइरहेको उनले बताइन्। सार्वजनिक जग्गा संरक्षण हुन नसकेको पाइएमा तत्काल सूचना दिन सबैसँग आग्रह गर्दै उनले सहयोगका लागि अपिल गरिँदै आएको बताइन्।

पहिलो चरणमा जग्गा संरक्षण गर्ने र दोस्रो चरणमा आवश्यकताअनुसार सार्वजनिक हितमा प्रयोग गरिने बताइन्। हाल भेटिएका जग्गामा वडा कार्यालयदेखि अटोल्याण्ड निर्माणसम्मका काम अघि बढाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्