ललितपुरमा युवतीले गरिन् पुरूष अपहरण

Kidnapped
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २७ वैशाख। सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी एक युवतीले एक वृद्धको अपहरण गरेकी छिन्। अनिमा नाम गरेकी युवतीले इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेलको अपहरण गरेकी हुन्।

अपहरणमा परेका वृद्धको प्रहरीले सकुशल उद्दार गरेको छ। चौडेललाई अपहरण गर्नेमा अनिमासँगै थप २ जना पनि रहेको परिसरका प्रमुख ‘एसएसपी’ रवीन्द्र धानुकले बताए। महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले ५९ वर्षीय चौडेललाई अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई समेत पक्राउ गरेको छ।

परिसरका प्रमुख ‘एसएसपी’ रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो। अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकले बताए।

प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा परेका हुन्। चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन्। उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ।

प्रहरीका अनुसार आज बिहान पनि इमाडोल नजिकै अनिमाले चौडेललाई बोलाएर अपहरण गरेको हुनसक्ने बताइएको छ। इमाडोलबाट अपहरण गरेर चौडेललाई सिधै ढोलाहिटी पुर्याएको थियो। चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागिन्। यदि नदिए मार्ने धम्कीसमेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएको एसएसपी धानुकले जानकारी दिए।

कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन्। अनिमाले फोन गरेलगत्तै चरुले एक प्रतिष्ठित मिडिया र ललितपुर प्रहरीलाई खबर गरेकी थिइन्। चरलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन्।

प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको एसएसपी धानुकले बताए। उनले भने, ‘परिसर र महाशाखाको संयुक्त टोली सादा पोसाकमा समेत खटिएको थियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्