‘म नछुने भए’

Chaupadi
लोकपाटी न्यूज
0 Shares

सुसिला धामी/म १५ वर्षकि थिए । कक्षा १० मा पढ्थे । हामि तिनवटा दिदि बहिनीमध्येकि कान्छि म । सबैले औधि माया गर्ने, सायद कान्छि छोरी भएर होला । योत कति लक्कि जसले नि यसलाइ मात्र माया गर्ने दिदिहरु डाह गर्थे । मेरो नाक ठूलो हुन्थ्यो ।

तर कान्छि हुनुका बेफाइदा पनि कम थिएनन । स्कुलको ड्रेस मैले कइल्यै किन्न पर्थेन । मेरा दिदिले पोर परार लगाएका ड्रेस यसपालिलाइ मलाइ ठिक्क हुन्थे । नाइके, आमा म यो पुरानो लाउँदिन नयाँ लाउने हो यसपालि त म । नाक फुलाएर बस्थे । अनि आमा नजिकै आएर भन्नुहुथ्यो । मेरी चेलीलाइ (छोरी) आर्को साल त नयाँ ड्रेस पक्का । म मख्ख पर्थे ।

म ७ वर्षकि हुँदा आमा बुबा कैलाली झर्नुभयो । म त्यतै हुर्के । बिहानको स्कुल जाने, दिउँसो स्कुलबाट आएर खाना खाएर सुत्ने अनि बेलुका ५ बजे घाँस काट्न जानुपर्ने । तैँले जति धरै घाँस ल्यायो त्यति धेरै गाइले दुध दिन्छ, आमाले फुर्काउनुहुन्थ्यो ।

असारे झरी । रातभरीको मच्छरको (लामखुट्टे) कानेखुसि । तराइको गर्मि । त्यसैमाथि लोडसेटिङ । आमा एकछिन सुत्न दिनुस न । ५ बजिसक्यो, ढिलो हुन्छ स्कुल, आमाले पङ्खा बन्दै गर्दै भन्नुभयो । म फेरी बिस्तरामा ढल्के । दिदि आएर पानी छ्यापी । जइले तैले गर्दा स्कुल ढिला हुन्छ,उठ् चाडो । नत्र हामि हिन्यौ , दिदि कराइ । हैन हैन, म ५ मिनेटमा तयार हुन्छु । दिदिलाइ फकाए । बाटोतिर हेरे, सबै साथीहरु आउँदै थिए ।

फटाफट ट्वाइलेट गए । पेट दुखेजस्तो भयो । पिसाबथैलीबाट केही खस्ला–खस्लाझैँ भयो । निधार पसिनाले निथ्रुरुक्क भो, रिंगटा आउला झै भो, नजिकैको पानीको बाल्टिन समाते । फुत्त खस्यो एउटा रगतको डल्लो, म जोरले चिच्याए । के भयो भन्दै ट्वाइलेट बाहिर उभिएकि पल्लो घरकि दिदिले सोधि । मैले ट्वाइलेटमा खसेको रगतको डल्लो देखाए । त्यसले मेरो कानमा खुसुक्क भनि । तँ तँ छाउ –महिनावारी) भइ । फस्ट चोटि छाउ भया यसै अरुको मुख हेर्नुहुदैन, उसले थपि । नजिकैको बाँसघारी (बाँसको झ्याङ)देखाउदै भनी, जाँ त्याँ गएर लुक ।

मैले मेरी दिदि पहिलोपटक महिनावारी भएको दिन सम्झे । उसलाइ पनि साथीहरुले यसैगरी भनेका हुदाहुन र त उ पनि बाँसको झ्याङमा लुक्न गएकि होलि । दिदि त्यसरी बाँसको झ्याङमा जाँदा बुबाले हकारेको सम्झे । र मैले त्यसो गरीन ।

मैले आमाको आवाज सुने, यो केटि जइले यसै गर्छे । खाजा खान आ, स्कुल जान ढिलो भइसक्योे । म दगुर्दै भान्सामा गए र भने आमा म त छाउ भए ।

ल ल यो भान्छामा नबस भन्दै मलाइ एउटा अध्यारो कोठामा लानुभयो । तैले आजबाट २२ दिनसम्म यतै बस्नुपर्छ । कोहि पनि लोग्नेमान्छेलाइ नछुनु । तलाइ यो भाडा देको छ , यसैमा खाना हालि माग्नु भन्दै जानुभयो । मलाइ डर लाग्छ, म कहिल्यै एक्लै सुतेकै छैन म याँ बस्दिन, भन्दै चिच्याउन मन लाग्यो तर त्यसो गरीन ।

माथिल्लो घरे भाउजुले छाउ बारेन भने पाप लाग्छ, देवताले श्राप दिनुहुन्छ भन्नुभएको सम्झे ।

सधै मसागै सुत्ने आमा दिदि आज मलाइ हेर्न समेत आएनन । जुन बेला मलाइ अरुको स्याहारको खाँचो पर्ने हो कोहि आएनन । एउटा बन्द कोठामा राखेर बेला बेलामा मेरा भाडाँमा खाना र पानी खन्याउन आउँथे ।

सधै स्कुल जाँदा दुध रोटि खाएर जाने म, आज नुन रोटि दिनुभयो । दुध त दिनुस न भन्दा छाउँ भएको बेला दुध दहि खानुहुदैन, गाइले दुध दिन छोड्छ भन्नुभयो । नुन रोटि खाएर स्कुल गए । फेरी बेलुका गाइलाइ घाँस काट्न गए । आज पनि मलाइ दुध दिनुभएन । भन्न त मन थियो मैले काटेको घाँस खाएर गाइले दिएको दुध किन खान नहुने, तर सम्झे, भगवानले श्राप दिए त म स्कुलमा फेल हुन्छु ।

हाम्रो आगन नजिकै बारीमा ठूलो आँपको रुख थियो । लटरम्मै आँप पाकेका थिए । मैले रुख चढ्न खोजे । तत्कालै आमा आएर भन्नुभयो रुख छुनहुदैन , यसो गरे रुखमा भएको सबै आँपको दानामा किरा पर्छ अनि रुख सुक्छ । म चढिन ।

पल्लोघरे दिदिले मेवा ल्याउनुभएको रैछ । मेवा दिनुस न आमालाइ भने । आमाले भन्नुभयो छाउँ भएको बेला पहेलो हुने फलफुल खानुहुदैन । पाप लाग्छ ।

तिनै दिदिको छोरा सानि मा भन्दै दगुर्दै आयो । तर दि दिदिकि आमाले समाउन दिनुभएन । बच्चालाइ छुनहुदैन, छाउँ भा बेला बच्चालाइ छोए दुब्लाउछ, बिरामी पर्छ भन्नुभयो । छोइन ।

कुनै पनि जनै लाएको मान्छेलाइ स्कुलमा नछुनु है । जनै छुनु हुदैन, पाप लाग्छ भनेर आमाले कान फुक्नुभएको थियो । तर मैले स्कुलमा जनै लायका सर र साथीलाइ देख्नेबित्तिकै छोए ।

यसरी त्यो अध्यारो कोठामा बसेको ११ दिन भैसकेको थियो । तर मैले लगाउने लुगाहरु सुकेका थिएनन् । अझ टालाहरु त झन अरुले देख्ने ठाउँमा सुकाउन हदैनथ्यो, घाँम त झन हेर्नैहुदैनथ्यो । आजबाट मलाइ घाम हेर्न स्कुल जान अनुमति दिएइको थियो । मैले आमाको पुरानो धोति च्यातेर टाला बनाए र स्कुल गए ।

यसरी बिस्तारै त्यो अध्यारो कोठामा बसेको २० दिन भैसकेको थियो । म अब २ दिनमात्रै बाँकि छ भन्दै औला गन्दै थिए । यस्तै बेलुकाको ५ बजेको थियो । भान्साबाट आमा कराएको आवाज सुने । स्याप स्याप (सर्प) भन्दै दगुर्दै बाहिर आउनुभयो । पल्लो घरको आमा बुबा र दाइलाइ सर्प मार्न भनेर बोलाउनुभयो । तर सर्प आफै भाग्यो ।

म पनि बाहिर आँगनमा आए के भएको रहेछ भनेर, मलाइ देख्नासाथ पल्लो घरकि आमाले भन्नुभयो यो सब छाउ, छुइ भएर भएको हो । घरभरी सुनपानी र गाएको गहुँत ले छर्किनुपर्छ भन्दै कराउनुभयो । अझ दाइले त अर्को घरमा राख्नुपर्ने छाउँ भएको बेला, घरकै कोठामा राख्या भएर यस्तो भएको समेत भन्नुभयो ।

म रुदै कोठाभित्र पसे । म एकदमै कमजोर भैसकेको थिए ।

२ दिनपछि मैले नुहाए, गाइको गहुँत खाएर मलाई चोख्याए । म भान्सा पसे, बुबा, आमा, भाइलाई छोए । तर त्यसको ५ दिनपछि फेरी म छाउँ (महिनावारी) भए । फेरी बाहिर भए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्