चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका हरेक घरमा छिटै शुद्ध खानेपानी पुर्याउने बताएकी छिन्। उनले काठमाडौँजस्तो पानी नपाउने अवस्था आउन नदिने बताइन्।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरका हरेक नागरिकको घरमा शुद्ध खानेपानी पुर्याउन आफू लागिरहेको बताइन्। उनले भनिन्, ‘खानेपानी विस्तार हुँदै गइरहेको छ, शुद्ध खानेपानीको पहुँच महानगरबासीलाई सहज रुपमा उपलब्ध गराउन कुनै कसर बाँकी राख्ने छैन।’
अहिले भरतपुरमा ४३ प्रतिशत नागरिकमा शुद्ध खानेपानी पुगेको छ। महानगर प्रमुख दाहालले भनिन्, ‘वर्षेनि खानेपानीको पहुँच बढ्दै जान्छ।’ खानेपानी बितरण र बिस्तारमा केही समस्या सडक बिस्तार, ढल व्यवस्थापन र विद्युतको कारणले आएको उनले बताइन्।
महानगरकी उपमेयर पार्वती शाहले शुद्ध पानी वितरण गर्दा सडक, विद्युत् र ढल व्यवस्थापनका लागि महानगरले नीति ल्याउने तयारी गरेको बताइन्। कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बोर्डले हालसम्म गरेका प्रगति बारेमा प्रकाश जानकारी गराएका थिए।
बोर्डले हालसम्म १ देखि १६ र २२ मा शुद्ध पानी दिँदै आएको छ। ३३ वटा डिप बोरिङ्गमार्फत दैनिक १२ घण्टा पानी दिँदै आएको छ। दैनिक औषत २ करोड ५ लाख लिटर पानी उत्पादन गरी वितरण गरेको बोर्ड प्रमुख प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी संजय बरालले जानकारी दिए।