काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन्।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा १३० औँ मे दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पुर्याइएको छ।”
संविधानले हामीलाई अघि बढ्न श्रमिक वर्गीय चिन्तनलाई आधार मानेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको छ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदूर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ।”
मजदूर सङ्गठनले विभिन्न विचार धारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै उनले सरकारले गरेका कामको जति नै आलोचना गरे पनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको बताए।
प्रधानमन्त्री ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ।” अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले राम्रो काम गरेकामा खुशी हुनुपर्नेमा समर्थन फिर्ता लिने काम भएको छ आउनुस्, मिलेर काम गरौँ।’
विगतमा मिलेर काम गर्दा साझा आन्दोलन र साझा उपलब्धि हासिल भएको बताउँदै उनले भने, “हामी मिलेर अगाडि बढौँ मिलेर उपलब्धि हासिल गरौँ, मजदूर सङ्गठनबाट सिकेर एकताका साथ अघि बढौँ।” उनले थपे, “देशले अहिले सुशासन र विकास खोजे छ, पृथकतावाद टुङ्गिएको छ, देशमा शान्ति सुव्यवस्था कायम भएको छ।”