सानो त्रुटीले प्रहरीको साख गिर्छ, इमान्दार भएर काम गरौं : महानिरीक्षक खनाल

Sarbendra-khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, वैशाख। समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा कार्यरत प्रहरी अधिकृतहरुलाई यसको अवधारणा र कार्यान्वयन सम्बन्धमा अभिमूखिकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी साझेदारी अवधारणा, औचित्य, साझेदारीका आधारहरु, विद्यालय सम्पर्क कार्यक्रमको औचित्य लगायतका विषयमा प्रकाश पारे। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत रही स्थानीय तहमा रहेका स्रोत साधनको प्रयोग गरी स्थानीय तहको सुरक्षाका लागि थप प्रभावकारी ढंगले काम गर्नुपर्ने उनले बताए।

नेपाल प्रहरी विधिको शासनमा चल्ने संगठन भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले न्याय निरुपणको लागि प्रहरीले पारदर्शी रुपमा काम गर्नुपर्ने बताए। प्रहरीले गरेका हरेक कामबारे समुदायलाई सुसूचित गर्नुपर्ने उनले बताए।

प्रहरी महानिरीक्षक खनालले बलियो सूचनाको आधार भनेकै सर्वसाधारण भएकाले कुनै पनि अपराधिक क्रियाकलापको विषयमा सूचना प्राप्त गर्न ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत समन्वय गरी काम गर्न समेत प्रहरी अधिकृतहरुलाई निर्देशन दिए। साना त्रुटीबाट पनि समाजमा प्रतिष्ठा गुम्नेतर्फ सचेत पार्दै उनले प्रहरीले काम गर्ने क्रममा त्रुटी बिना सहि तरिकाले गर्नुपर्ने समेत बताए।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अभिमूखिकरणको उद्देश्य, समस्याको पहिचान र भावी कार्यदिशा बारेमा कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए। साथै उनले सहभागी प्रहरी अधिकृतहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए।

कार्यक्रममा प्रहरी उपरीक्षक सबिन प्रधानले समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयनको प्रारुपबारे तथा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले अवधारणा र प्रहरी कार्यमा यसको उपयोगिताबारे प्रस्तुतीकरण गरेका थिए।

देशभर करीब १९ हजार ३५ साझेदारी समितिहरु निर्माण भई उल्लेख्य रुपमा प्रहरी र समुदायको साझेदारीका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ। यस अवधारणाको अनिवार्यतालाई अझ सशक्त रुपमा कार्यान्वयन गर्नका लागि सुपरीवेक्षण र व्यवस्थापनको काम भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्