नयाँ शक्तिमा विवाद, ‘डा. भट्टराई पनि अलोकतान्त्रिक’ : नेता पराजुली

Devendra parajuli
लाेकपाटी न्यूज

काठमाडौं। संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकतामा हस्ताक्षर भएसँगै नयाँ शक्तिको पार्टी पंक्तिमा निरासा र आक्रोश देखिएको छ। शनिबार केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाएर एक्लै पार्टी एकताको निर्णय गरेको भन्दै नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पराजुलीले असन्तुष्टि जनाएका छन्।

पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको निर्णयको प्रक्रियाप्रति आपत्ति जनाएका छन्। पराजुलीले लेखेका छन्, ‘महाधिवेशन आयोजक समितिको बैठक बोलाउने, सबैलाई कुराउने अनि दुई चार जना मात्रै बसेर निर्णय लिने। यो अलोकतान्त्रिक सोच र शैली बदल।’

Capture

तर, पराजुलीले आफ्नो असहमति प्रक्रियाप्रति मात्र हो कि पार्टी एकताप्रति नै हो, त्यो कुरा उल्लेख गरेका छैनन्। उनले पार्टीमा लोकतान्त्रिक सोंच र शैली देखाउन नेताहरुलाई खबरदारी गरेका छन्। फोरम र नयाँ शक्तिबीच एकता हुने भएपछि नयाँ शक्तिका युवा नेताहरुले पनि आपत्ति जनाएका छन्।

नयाँ शक्तिका युवा नेता सौगात पोखरेलले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एकताप्रति आपत्ति जनाएका छन्। उनले लेखेका छन्, ‘बाबुरामले जय नेपाल गर्दा पनि ठीक ? लाल सलाम गर्दा नि ठीक ? अनि जय राजपा फोरम भन्दा पनि ठीक ? यत्रो काण्डैकाण्डको सरकारको उपेन्द्रसँग पार्टी एकता गरेर बैकल्पिक पार्टी बनाउछु भन्नेलाई सेमसेम नभनेर वाह, बाह भन्नुपर्ने हो ? हनुमान हो।’

नयाँ शक्तिका अधिकांश नेताहरुले उपेन्द्रसँग एकता गर्नुभन्दा बरु नेकपासँग एकता गर्न उचित हुने सुझाव दिएका छन्। ‘नेकपा र उपेन्द्रसँग एकता गरेर बैकल्पिक शक्ति बन्दैन। तर, एकता नै गर्नुछ भने नेकपासँग गर्दा राम्रो।’ अधिकांशले सामाजिक सञ्जालमा यस्तै प्रकृतिका प्रतिक्रिया दिएका छन्।