काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्दै छायाँ मन्त्रीको नाम टुंगो लगाएको छ।
वर्तमान सरकारको निगरानी गर्न चार महिनाअघि छायाँ सरकार गठन गर्ने निर्णय गरेको कांग्रेसले मन्त्रीहरुको सूचि तयार पारेको हो। सरकार सञ्चालन गर्ने मन्त्री छान्नभन्दा कांग्रेसमा छायाँ मन्त्री छान्न निकै सकस परेको थियो।
चार महिनाअघि मन्त्री बन्नेहरुले फारम भरेका थिए। भरिएका फारममध्येबाट कांग्रेसले छायाँ मन्त्री छानेको छ। नेता गगन थापालाई कांग्रेसले छायाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनाउने भएको छ, दिलेन्द्रप्रसाद बढुलाई गृह र डा. मीनेन्द्र रिजाललाई अर्थमन्त्री बनाउने गरी सूचि तयार पारेको छ।
कांग्रेसले गुटगत आधारमा तयार पारेको छायाँ सरकारको भौतिक पूर्वाधारमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्टमा डा. नारायण खड्का, रक्षामा भीमसेनदास प्रधान, उद्योगमा मीन विश्वकर्मा, महिला बालबालिकामा उमा रेग्मी, कृषि तथा पशुपंक्षीमा डा. डिला संग्रौलाको नाम तय भएको छ।
त्यसैगरी सूचना तथा सञ्चारमा जीतेन्द्र देव, उर्जा तथा सिचाइमा सञ्जय गौतम, वन तथा वातावरणमा किशोरसिंह राठौर, पर्यटनमा देवेन्द्रराज कँडेलको नाम तय गरिएको छ। कांग्रेस २१ छायाँ मन्त्रीको नाम टुंगा लगाएको छ। छायाँ मन्त्री छान्न कांग्रेसभित्र निकै सकस परेको एक नेताले बताए।