मैले हेर्दा ‘मेरो सरकार’ भन्ने थिएन पछि घुसेछ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुअगावै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत पढेको बताइएको छ।

तर, प्रचण्डले पढ्दा २६ पृष्ठ लामो सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ लेखिएको थिएन। प्रचण्डले पढेको नीति तथा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बाहेक अरुले पढ्ने पहुँचमा हुने कुरै भएन । त्यसमा ‘मेरो सरकार’ घुसाउने काममा प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक पार्टीका अन्य नेताहरुको संलग्नता रहने कुरै भएन। भलै यो नीति तथा कार्यक्रमको तयारीमा नेकपा संसदीय दलका उनपेनता सुभासचन्द्र नेम्वाङको समेत उल्लेखनीय योगदान थियो ।

शनिबार दिउँसो आयोजित नेकपा संसदीय दलको बैठकको प्रारम्भमा प्रधानमन्त्री ओली उपस्थित थिएनन् । त्यहाँ नेकपा सांसदहरुले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनिएकोबारे प्रश्न उठाए। सांसदहरुको प्रश्नको जवाफ दिँदै नेकपाका अध्यक्ष प्रचण्डले ‘मेरो सरकार’ पछि घुसाइएको बैठकमा सुनाए ।

दलको बैठकमा प्रचण्डको भनाइलाई उधृत गर्दै एक सांसदले भने, ‘संसदमा राष्ट्रपतिले वाचन गर्नुअघि प्रचण्डजीले नीति तथा कार्यक्रम पढेको तर, आफूले पढ्दा त्यहाँ मेरो सरकार नलेखिएको बताउनुभयो।’

‘मैले पढ्दाखेरि त्यहाँ कतै पनि मेरो सरकार लेखिएको थिएन, पछि घुसेछ,’ प्रचण्डले बैठकमा यसो भन्दै गर्दा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली फुत्त बैठक कक्षमा प्रवेश गरे। ओली आउनासाथ प्रचण्डले भने, ‘बाँकी के कसो भएको हो, प्रधानमन्त्रीजी पनि आउनुभयो, थप कुरा उहाँले नै बताउनुहुनेछ।’

ओली आउनुपूर्व दलको बैठकमा प्रचण्डले भनेका थिए, ‘मेरो पालामा नीति तथा कार्यक्रम कस्तो भयो थाहा भएन, यसपालि चाहिँ हामीले सांगोपाङ्गो हेरेका छौं, नीति कार्यक्रम प्रधानमन्त्रीजी र म नै बसेर हेरेको हो। हामीले हेर्दासम्म यो मेरो सरकार भन्ने थिएन, यो कहाँबाट थपियो, प्रधानमन्त्रीजीलाई थाहा होला।’

तर, प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्ने प्रचलन अन्तरराष्ट्रिय रुपमै रहेको बताइसकेपछि अब यसलाई सामान्य रुपमा लिन प्रचण्डले नेकपा सांसदहरुलाई आग्रह गरे । ‘प्रधानमन्त्रीको कुरा सुन्दा यो अन्तरराष्ट्रिय प्रचलन पनि रहेछ। ठीकै छ, अब यसमा नलागौं, यसको कन्टेनमा छलफल गरौं’ बैठकमा प्रचण्डले सांसदहरुलाई भने, अब यसलाई पारित गरेर बजेटको तयारीमा लागौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्