आइतबारदेखि एक महिना बन्द धनगढी विमानस्थल

लाेकपाटी न्यूज

धनगढी, २२ वैशाख। कैलालीको धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। धावनमार्ग मर्मतका लागि आइतबारदेखि विमानस्थल एक महिना बन्द हुनेछ।

धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले जेठ २१ गतेसम्म विमानस्थल बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढा थापाले बताए। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गर्न सुरु गरिएको छ।

हाल ६० मिटर चौडाई र १८ सय मिटर लम्वाइको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तर वृद्धिसँगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना रहेको बुढाले जानकारी दिए। उनका अनुसार हाल एकचोटीमा ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना पनि रहेको छ।

यससँग एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तार पनि हुनेछन। २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तार लगायतका योजना समेटिएको छ। एक महिना सम्म विमानस्थल बन्द भए चौतर्फी समस्या हुने भन्दै विरोध भएपनि विकल्प नभएको जनाउदै बन्द गरिएको छ।

यसअघि यति लामो समय विमानस्थल बन्द गर्न नहुने भन्दै कैलाली उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी, व्यापारी लगायतले सरोकारवालाको ध्यानाकर्षण समेत गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्