एजेन्सी। भारतले टिकटकमाथि २ हप्तासम्म प्रतिबन्ध लगाएपछि टिकटकले झण्डै डेढ करोड प्रयोगकर्ता गुमाएको छ। लोकप्रिय भिडियो शेयरिङ एप टिकटक २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका गुमाएको हो।
‘सेन्सर टावर’नामक एनालिटिक्स फर्मको एक नयाँ रिपोर्टले उपर्युक्त तथ्यको खुलासा गरेको हो । टिकटक Bytedance चिनिया कम्पनी को स्वामित्वमा रहेको छ । उक्त रिपोर्ट अनुसार यदि भारतमा टिकटकमाथि प्रतिबन्ध नलागेको भए गत अप्रिल महिना टिकटकका लागि भारतमा अहिलेसम्मकै उत्कृष्ट महिनाको रुपमा दर्ज हुन्थ्यो।
भारतमा करीब ६० करोड इण्टरनेट प्रयोगकर्ता रहेका छन् भने टिकटक प्रयोगकर्ताको संख्या १२ करोड रहेको छ।भारतमा दुईहप्ते प्रतिबन्ध सँगै अप्रिल महिनाको टिकटकको समग्र विश्वव्यापी डाउनलोड दरमै ३३ प्रतिशतले गिरावट देखिएको छ। तर प्रतिबन्ध फुकुवापछि भने भारतमा यो एपका नयाँ डाउनलोडकर्ताको संख्या तीव्र रुपमा बढेको अपेक्षा गरिएको छ।
सेन्सर टावर रिपोर्ट अनुसार, टिकट पहिले नै एप स्टोरमा टपटेन एपको रुपमा परिसकेको छ। एप्पलको एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपमा टिकटक छैटौँ स्थानमा रहेको छ। फोटो तथा भिडियो एपको विधामा यो नै पहिलो नम्बरमा पर्दछ। त्यस्तै गुगल प्ले स्टोरमा पनि टिकटक तिव्र गतिमा अगाडि आइरहेको छ।
भारतमा डाउनलोडमाथिको प्रतिबन्धका कारण आफुलाई दैीनक ५ लाख डलरको नोक्सानी भएको र अढाई सय भन्दा धेरै कर्मचारीहरुको जागिर पनि संकटमा परेको टिकटकले जनाएको थियो। साथै टिकटकले आफ्नो प्लेटफर्ममा रहेका ६ लाख भन्दा धेरै आपत्तिजनक भिडियोहरु हटाएको पनि दाबी गरेको छ।
बालबालिकाहरुलाई अश्लील सामाग्रीहरुमा फसाएको भन्दै भारतीय अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएसँगै भारतमा गत महिना टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाइएको थियो। तर उक्त आदेशका सम्बन्धमा टिकटकले पुनरावेदन गर्दै आफूले लाखौँ आपत्तिजनक सामाग्रीहरु हटाएको दाबी गरेसँगै भारतले टिकटमाथिको प्रतिबन्ध हटाएको थियो।