‘नरेन्द्र मोदी २० दिनका लागि प्रधानमन्त्री’

PM Narendra Modi
लाेकपाटी न्यूज

काठमाडौं। भारतमा आगामी सरकारको नेतृत्व कुन दलले गर्ने फैसलाका लागि अहिले लोकसभाको निर्वाचन भइरहेको छ। लोकसभामा निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा र राहुल गान्धी नेतृत्वको भारतीय कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ।

यसै क्रममा शनिबार पत्रकार सम्मेलन गरेर कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपामाथि कडा टिप्पणाी गरेका छन्। आधा चुनावपछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको राहुलले दाबी गरेका छन्।

राहुलले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाएका हुन्। महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो।’

कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन्। ‘चुनाव आधाभन्दा धेरै सकिएको छ। स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन्। किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने।

राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन्। उनले भने, ‘चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको छ। जहाँ सत्ता पक्ष भाजपाका लागि एउटा नियम छ भने विपक्षी पार्टीका लागि एउटा नियम छ। चुनाव आयोगमाथि पनि भाजपाको दबाब रहेको छ।’

‘सन् २०१४ देखि नरेन्द्र मोदीले आफू १०–१५ वर्षका लागि प्रधानमन्त्री रहने बताउँदै आएका थिए। मोदीजीको प्रधानमन्त्रीको आयु अब १५ देखि २० दिनसम्मको मात्र छ। अब प्रधानमन्त्री को हुन्छ ? यो देशका नागरिकले तय गर्नेछन्’, राहुलले भने।

राहुल भन्छन्, ‘हामीले मोदीसँग चार, पाँच चुनाव लडिसकेका छौँ। जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन्।’ राहुलले प्रधानमन्त्री मोदीलाई पत्रकार सम्मेलन गर्न सुझाउँदै पाँच वर्षमा एक प्रधानमन्त्रीले एउटा पनि पत्रकार सम्मेलन नगर्नु उचित नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्