पूर्वमन्त्री दहित बने भिक्षु

Gopal Dahit
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख। पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित भिक्षु बनेका छन्। पूर्वमन्त्री दहितले सधैंँ नेता कार्यकर्तासँग व्यस्त रहने गरेको आफूले अहिले गजबको शान्ति महसुस गरेको बताएका छन्।

थारू बौद्ध समाजद्वारा लुम्बिनीमा आयोजित बौद्ध धर्मसम्बन्धी कार्यक्रममा अन्य थारु भक्तजनसँगै पुर्वमन्त्री दहित पनि भिक्षु बनेका हुन्। लुम्बिनीस्थित महाबोधि सोसाइटी अफ इन्डियाको सभाहलमा आयोजित तीन दिने कार्यक्रममा थारू समुदायका ६० व्यक्तिले सामूहिक रूपमा प्रवज्या लिएर भिक्षु बनेका छन्।

प्रवज्या भनेको भिक्षु जीवनमा प्रवेश गर्नु हो। पूर्वदेखि पश्चिमका आठ जिल्लाका थारू अगुवा प्रवज्जित भएका हुन्। बुद्ध धर्मअनुसार शाक्यमुनिहरू एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता छ। प्रवज्या लिएपछि कतिपय भिक्षु नै हुन्छन् । कतिपय फेरि गृहस्थी जीवनमै फर्कन्छन्।

उनीहरू शनिबारदेखि प्रवज्या लिइरहेका छन्। शान्तिका अग्रदूत गौतम बुद्धको मार्गमा हिँड्न कति कठिन छ? त्यसैको अनुभूति दिन उनीहरूलाई पारिवारिक मायामोहबाट अलग बनाएर दिक्षा धर्मोपदेश दिइँदै छ।

नवप्रवेशी भिक्षुलाई ७५ नियम र १० शील सिकाइने आयोजकले जनाएको छ। भिक्षु बनाउने कार्यक्रम अखिल नेपाल भिक्षु महासंघको स्वीकृति लिएर गर्न सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्