ट्राफिक प्रहरीले नयाँ बसपार्क क्षेत्रमा डाेजर चलायाे

Traffic polic
लाेकपाटी न्यूज

काठमाडौं, २४ वैशाख। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ। ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा प्रदुषण नियन्त्रण कार्ययोजना अन्तर्गत उक्त करिडोर निर्माण गरेको हो।

करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ। करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए।

यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ। करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारीसाधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आउने महाशाखा प्रमुख पन्तले बताए।

महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, तीन हजारभन्दा धेरै मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतनाकक्ष सञ्चालन गरिसकेको छ।

चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताए। ‘करिडोर निर्माणसँगै बसपार्क पुलमा हुने जाममा कमी आउँछ’, उनले भने।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्