‘असम्भव भन्ने कुरा मूर्खहरुको शब्दकोषमा मात्र भेटिन्छ’

nepolian bonapart
लाेकपाटी न्यूज

काठमाडाैं। हामी आफैमा बहादुर छौं। हामी त्यो गर्न सक्दछौं, जुन हामी चाहन्छौं। जसरी फ्रन्सका योद्धा नेपोलियन बोनापार्टले मेरो शब्दकोषमा असम्भव भन्ने केही पनि छैन भनेका थिए, त्यसरी नै उक्त वाक्य हामीमा आएर पनि चरितार्थ हुन्छ।

हामी जे सोच्दछौं, जसको अपेक्षा राख्दछौं, जसको आशा अनि चाहना गर्दछौं, त्यो वास्तविकतामा आउन सक्छ। यदि तपाईले हृदयभित्रैबाट गर्छु भन्नुहुन्छ भने सम्पूर्ण सपनाहरु यथार्थमा परिणत हुन सक्छ। यदि तपाईले हृदयभित्रैबाट त्यसलाई सफल बनाउने संकल्प गर्नुहुन्छ भने हाम्रो संकल्पले सबैथोकलाई सत्यसावित गरिदिन सक्छ।

हामीमा त्यो असीम शक्ति छ, जसले विश्व परिवर्तन गरिदिन सक्छ। तपाईलाई थाहा नहुन सक्छ, गौतम बुद्धले पटकपटक एकचित्त रहेर ध्यानमा बस्ने प्रयत्न गर्दथे। तर, सफल भइरहेका थिएनन्। पछि उनले संकल्प ठोके जबसम्म बुद्धत्व प्राप्त हुँदैन, तबसम्म म यो पलेटी खोल्दिनँ र अन्ततोगत्वा उनी सफल भएरै छोडे।

हामी आफैमा सकुंचित भएर बस्यौ भने हामीले केही गर्न सक्दैनौं। तर, यदि हामी आफैले बनाएको बन्धन चुडालेर हिड्याैं भने आफैले सिर्जना गरेको निन्द्राबाट व्युझेर उठ्यौ भने हामी धेरै माथि पुग्न सक्दछौं। के कुरा याद राख्नुहोस् भने यस दुनियाँमा हाम्रो यात्रालाई रोक्ने ताकत आफैमा मात्र हुन्छ।

बाधा अन्यत्र होइन, आफैभित्र हुन्छ। एउटा चिनियाँ उखान छ, ‘मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन, मेरो खुट्टाको जुत्ताभित्रको ढुंगाले हो।’ समस्या बाहिर होइन, आफैभित्र हुन्छ र यसलाई परास्त गर्ने हो भने हामीलाई रोक्ने कोही हुनेछैन।

मानिसले त्यतिसम्म प्रगति गर्न सक्दछन्, जति उनीहरुले कल्पना गर्न सक्दछन्। यदि तपाईले पूर्ण सकंल्पका साथ कुनै प्राप्तिको अपेक्षा गर्नुहुन्छ भने त्यो तपाईकै भएर आउनेछ, विश्वास गर्नुहोस्। अर्को महत्वपूर्ण कुरा, सकंल्प गर्नुभन्दा पनि कठिन संकल्पलाई सकार पार्ने क्रममा तपाईले भोग्नुपर्ने हुन्छ।

सफलताको तीन चरणहरु हुन्छन्। पहिलो चरण हुन्छ, सुरुवाती चरण जसलाई उत्साहले भरिएको चरण भन्न सक्दछौं। हामी पूर्ण रुपमा उत्साहित भएर कार्य सुरुवात गर्ने प्रण गर्दछौं। यसपछि दोश्रो चरण सुरु हुन्छ कार्यको। यसमा मानिस निक्कै तड्पन सक्छ। निकै ठेस अनि ठक्कर खान सक्छ। असफलताबाट निर्मित कठिन मार्गहरुमा यात्रा गर्नुपर्दछ यस चरणमा।

यसर्थ कतिपय व्यक्तिहरु यस चरणमै हरेश खाई अन्तिम चरणमा पुग्न सक्दैनन्, जुन चरण हो सफलता। यी सम्पूर्ण व्यवाधानहरुलाई यदि तपाईले पार गर्न सक्नुभयो भने सफलता पक्कै प्राप्त गर्नु हुनेछ। परिश्रमबिना सफलता प्राप्त हुन सक्दैन।

हामी आफै पटकपटक चिप्लन्छौं। तर, हामी लड्न भने कहिल्यै हुँदैन। यही मुस्किलको पार गर्न सकियो भने विजय तपाइकै पोल्टामा पर्दछ। तपाईसँग केही नहोस्। तर, तपाई प्राप्तिमा अनवरत खटिरहनुहुन्छ भने सफलता तपाईको ढोका ढक्ढक्याउन आउनेछ।