सम्झौताको साढे सात वर्ष बित्दा पनि पूल निर्माण अलपत्र

Bridge
लाेकपाटी न्यूज

महेश सिंह महतो-लहान , २५ वैशाख।

हुलाकी सडकमा पर्ने सिरहा र धनुषाको सीमानामा निर्माणधिन कमला नदी र सप्तरी र सिरहाको सीमामा पर्ने बलान नदी पूलको काम अझै शुरु भएको छैन। दुवै निर्माणधिन पूल अलपत्र अवस्थामा रहेको कारण वर्षौदेखि सर्वसाधारण सास्ती भोग्दै आएका छन्।

दुवै पूल यथासिघ्र निर्माण गर्न संघर्ष गर्दै आएको हुलाकी सडक संघर्ष समितिसँग सरकारले गत माघ १९ गते सम्झौता गरेको थियो। दुवै पूल २०७७ साल वैशाख २ गतेसम्म तयार हुने संसदीय विकास समितिको सभापति कल्याणी खड्काको रोहबरमा दुवैपक्षबिच सहमति भएको थियो।

अगामी फागुन १५ गतेदेखि दुवै पुलको निर्माण कार्य शुरु गर्ने सहमति भएको थियो। तत्पश्च संघर्ष समितिका पदाधिकारीले एक महिना तीन दिन लामो रिले अनशन तोडेको थियो।

पप्पु कन्ट्रक्सनले दुवै पुलको ठेक्का लिएका छन्। सिरहा र धनुषा जोड्ने कमला नदीको पूल निर्माण गर्न पप्पु कन्ट्रक्सनले ३० मंसिर ०७१ मा सम्पन्न गर्ने गरी ३१ जेठ ०६८ मा सम्झौता गरेको थियो। तर साढे सातवर्ष बित्दासमेत अझै कमलाखोलाको पूल निर्माण गरेको छैन। यस्तै पप्पु कन्ट्रक्सनले नै निर्माण गर्ने सिरहा र सप्तरी जोड्ने बलान पुल पनि अलपत्र अवस्थामा छ। उक्त पुल निर्माणको लागि केहि पिलर गाडेर अलपत्र छाडेका छन्।
तर, एक महिनाभन्दा बढी बित्दासमेत काम शुरु नभएको भन्दै संघर्ष समितिले सातदिने अल्टिमेटमसहित सिरहाका प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र पठाएको छ।

‘सरकारसंग भएको हाम्रो सम्झौता र प्रधानमंत्री तथा भौतिक योजना मंत्रीले सिरहा स्कूलको प्राङगणमा दसौ हजार जनताको बीच गरेको प्रतिबद्धताअनुसार समयमा काम सम्पन्न नहुने आशंका लागेर हामीले यो स्मरणपत्र दिएका हौं’ पत्रमा उल्लेख छ।

हुलाकी सडक संघर्ष समितिका केन्द्रिय संयोजक रामरिझन यादव र समितिका सिरहा जिल्ला संयोजक मनोज पासवानको संयुक्त हस्ताक्षरसहितको स्मरणपत्र समितिले सिरहाका प्रमुख जिल्ला अधिकारीलाई सामेबार बुझाउँदै आन्दोलनको चेतावनी दिएको हो। एकहप्ताभित्र ठेकेदार कम्पनीले काम शुरु नगरे आन्दोलन गर्ने चेतावनी समेत स्मरणपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्