धनकुटा, २५ वैशाख। प्रदेश १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै आजपनि दबावमुलक कार्यक्रम जारी राखेका छन्। बुधबार दिउँसो ३ बजेदेखि एक घण्टा चक्का जाम गर्ने कार्यक्रम तय गरिएको छ ।
मंगलबार पनि धनकुटाको जिरो प्वाइन्टमा मध्याह्न १२ बजेदेखि १ बजेसम्म एक घण्टा चक्काजाम र राति ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिएको थियो। प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले अहिले जिल्लाको अवस्था सामान्य रहेको बताए। ‘गाडीहरु पनि चलिरहेका छन्, स्थिति नर्मल छ,’ उनले भने।
प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई नै कायम गर्ने निर्णय गरेको छ। तर धनकुटाका बासिन्दाले भने धनकुटालाई नै स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरुले सुन्दरवाबु श्रेष्ठको अध्यक्षतामा धनकुटा प्रादेशिक राजधानी अभियान समिति गठन गरेर आन्दोलन गर्दै आएका छन्। उनीहरुले अहिले जारी आन्दोलनलाई अन्तिम र निर्णायक भनेका छन्।
धनकुटालाई प्रादेशिक राजधानी नबनाए जिल्लाको पहिचान, इतिहास र अस्तित्व मेटिने उनीहरुको चिन्ता छ। धनकुटा बजारमा हाल चहलपहल घटेको र व्यापारी तथा सर्वसाधारण बसाइँ सरेर धरान, इटहरी र विराटगरतर्फ गइरहेको उनीहरुको भनाइ छ।