गर्भवती महिलाले के-के गर्नुपर्छ, के-के खानुपर्छ ? (३० टिप्स्)

लाेकपाटी न्यूज
13 Shares

गर्भावस्थाको समय खानपानमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा सामान्यत सबैलाई थाहा हुन्छ। तर, के तपाईंलाई थाहा छ, गर्भवती लागि कस्ता खाना खानु उचित हुन्छ ? खानामा अनेक प्रकारका तत्वहरु हुन्छन्, त्यसबारे महिला र पुरुष दुवैले जान्न जरुरी छ।

गर्भावस्थामा महिलाहरुले कुन खानेकुरा खान मिल्छ र कुन खानेकुरा खाँदा आमा र बच्चाको जिउलाई हानी पुग्छ ? भन्ने विषयमा विश्वभरि नै विभिन्न खाले मान्यता रहेका छन्। वैज्ञानिक तथा चिकित्सकहरुले पनि यो विषयमा धेरै खोज भएको छ। देशअनुसार, समुदायअनुसार मानिसका सोचाइ तथा मान्यता फरक पनि हुन्छन्।

दक्षिण कोरियामा गर्भवती महिलालाई समुद्री झारको सुप खुवाइन्छ। दक्षिण अफ्रिकामा गर्भवती महिलालाई इसिलाम्बेजो नामको हर्बल जडीबुटी खुवाइन्छ, जसमा जनावरको पिसाबदेखि विभिन्न झारपातको धुलो समेत राखिन्छ। इरानमा अनारको जुसलाई निकै हितकर भनेर गर्भवतीलाई खुवाइन्छ भने सेनेगलमा हड्डीको मासी।

गर्भवती महिलाका लागि माछा सबैभन्दा उपयुक्त भनेर खुबै खुवाइन्छ। तर, माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्नेतर्फ ध्यान पुगेको देखिँदैन। बदाम गर्भवती महिलाका लागि खासै राम्रो नहुने मान्यता छ। तर, गर्भवती महिलाले प्रशस्त बदाम खाँदा गर्भको बच्चालाई फाइदा पुग्छ र उसमा एलर्जी हुने खतरा कम हुन्छ।

खानेकुरादेखि अन्य कुराहरुमा पनि विभिन्न अन्धविश्वास विश्वभरि नै छन्। अन्य भन्दा पनि सबैभन्दा बढी महत्व खानेकुराले नै राख्ने गरेकाले महिला आफैँ र उनको परिवारले खानपानमा ध्यान पुर्‍याउनुपर्दछ।

गर्भावस्थामा के–के खाने ?

१) गर्भवती अवस्थामा प्रशस्त पानी पिउनुपर्दछ, जसले आमा र बच्चा दुवैको शरीरमा पानीको मात्रा पुग्दछ र अक्सिजनको मात्रा पनि सन्तुलनमा राख्दछ।

२) प्रशस्त फलफूल तथा तरकारी खानुपर्छ, आफ्नो सम्पूर्ण खानेकुराको कम्तिमा पनि पाँच भागमा एक भाग तरकारी तथा फलफूल हुनैपर्छ।

३) माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दुध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ।

के–के खानु हुँदैन ?

१) रक्सीयुक्त पेयपदार्थ, सुर्ती, चुरोट आदीले बच्चाको स्वास्थलाई हानी गर्दछ, तसर्थ यस्ता खानेकुरा खानु हुँदैन।

२) काँचो मासु तथा काँचो अण्डा खानु भने हानिकारक हुनसक्छ। सकभर यसबाट अलग रहनु नै राम्रो मानिन्छ।

कुन–कुन फलफूल नखाने ?

गर्भावस्थामा महिलाको प्रतिरोधी क्षमतामा ह्रास ल्याइदिन्छ जसका कारण महिला र तपाईंको बच्चा ब्याक्टेरिया र भाइरसले सजिलै आक्रमण गर्न सक्छन्। गर्भावस्थामा केही यस्ता खानेकुरा छन्, जसलाई खानबाट बच्नुपर्छ।

१) काँचो मेवा – गर्भावस्थामा काँचो मेवा खाने नखाने भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ। मेवा खाँदा चाँडै प्रसव पीडा हुने र गर्भ तुहिने श्रीलङ्का, बंगलादेशसहित विभिन्न देशका महिलाले बताउँदै आएका छन्, जुन आंशिक सत्य हो। विशेषगरी काँचो र थोरै पाकेको मेवामा ल्याटेक्स नामको तत्व पाइन्छ, जसले गर्भाशय संकुचन गराउने गर्दछ। यद्यपि, पाकेको मेवामा भिटामिन सी र अन्य पौष्टिक तत्व हुनाले गर्भावस्थामा उत्कृष्ट मानिन्छ।

२) भुईंकटर – गर्भावस्थामा भुईंकटर खानबाट बच्नुहोस्। भुईंकटर ब्रोमेलेन तत्व पाइन्छ, जसले गर्भाशयलाई नरम बनाएर चाँडै ब्यथा लाग्ने बनाउँछ। यसलाई विशेषगरी पहिलो त्रैमासिकमा खानु हुँदैन। भुईंकटरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुन सहयोग गर्ने बताएका छन्। त्यसकारण गर्भवतीलाई भुँइकटर खानबाट जोगाउनुपर्छ।

३) अंगुर – गर्भावस्थामा अंगुर खाने नखाने भन्ने विषय विवादास्पद बनेको छ। केही स्वास्थ्य क्षेत्रमा लागेका विज्ञहरुले गर्भावस्थामा अंगुर खान नहुने बताउँछन् भने कतिले खान नहुने भनी सुझाउँछन्। अंगुरमा किराहरुले नखाओस् भन्नका लागि छरिने किटनाशक औषधी अत्यधिक प्रयोग हुने भएकाले धैरैले यसलाई नखान नै सल्लाह दिन्छन्।

अंगुरमा पाइने रेस्भेरेट्रोल तत्वले गर्भवती महिलामा विषाक्त फैलाउने काम गर्दछ। तर, गर्भावस्थामा अंगुर खाँदा आवश्यक पोषक तत्व जस्तै भिटामिन ‘ए’ र ‘सी’ पाउने गर्दछन्। त्यसकारण यो फल खानुभन्दा पहिले आफ्नो डाक्टरसँग खाने नखाने भन्नेबारे सल्लाह लिनुहोस्।

४) नपखालिएका काँचो फलफूल – एक गर्भवती महिलाका लागि सबैभन्दा महत्वपूर्ण सल्लाह भनेको राम्रोसँग नपखालिएका काँचो फलफूल नखाने। गर्भावस्थामा टोक्सोप्लास्मोसिसको संक्रमण नहोस् भन्नका लागि फलफूलको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ। गर्भावस्थाको डाइटमा फलफूललाई विशेष स्थान दिनुपर्छ। तर, यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ। गर्भावस्थामा केही जटिलता ननिम्तियोस् भन्नका लागि र्भुंइकटर र मेवा धेरै मात्रामा खानु हुँदैन।

गर्भावस्थामा ध्यान दिनुपर्ने २१ कुरा

१) गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले बच्चा जन्माउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

२) कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, बच्चा जन्माउन गाह्रो हुने, बच्चा पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ।

३) गर्भाधानका क्रममा शिशु, सालनाल, बच्चा वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।

४) छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्ने मानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ। गर्भ रहेका चिन्हहरू विभिन्न हुने भए पनि नियमित रूपमा भइरहने महिनावारी रोकिनु गर्भ रहेको शंका गर्ने मुख्य आधार हो।

५) गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न–पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण भएपनि अल्ट्रासाउन्ड (भिडियो एक्सरे) को आफ्नै महत्व छ। आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको बच्चामा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउनुपर्छ।

६) गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ। मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ। प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक– फरक हुन्छन्।

७) नियमित रूपमा महिनावारी भइरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा बच्चा जन्मिने मिति तय गर्न सकिन्छ। यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले बच्चा जन्मन्छ भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले दुई हप्ताअघि वा एक हप्तापछि बच्चा जन्माउँछन्।

८) गर्भावस्थाको करिब १८ हप्तापछि बच्चा चलेको महसुस हुन्छ। गर्भ रहेको करिब ३६ हप्तापछि बच्चा तल सर्ने (पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ। गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरू, तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देख पर्ने, पिसाबजस्तै पानी बग्ने लगायतका समस्या देखा पर्न सक्छन्।

९) पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरि जाँच गराउनुपर्छ। प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ। यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ।

१०) पहिलो गर्भावस्थामा दुईपटक ‘टी–टी खोप’ लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ। यसका साथै शक्ति प्राप्त हुने थप कार्बोहाइडेड तथा प्रोटिनयुक्त खाना खानुपर्छ।

११) नियमित जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी व्यथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हो। जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ।

१२) मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको बच्चा सानो शंका गरिएकी, जुम्ल्याहा बच्चा भएकी, पहिले पटक–पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ।

१३) गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्य छातीको हड्डीमुनिसम्म पाठेघरको ९पेट० को उचाइ बढ्छ।

१४) गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अंगहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ। गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार ९मुख० को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अंगहरू फोक्सो, मृगौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्।

१५) विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भमा रहेको बच्चाको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका बच्चा जन्मिन सक्छन्।

१६) गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिस्राव (सेतो पानी) अलि बढी बग्ने, पिडौंला एवं जननेन्द्रीय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौंला बाउँडिन्छ।

१७) गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिल्न डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिँदैन। करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित तवरले सुत्केरी गराउन सकिन्छ।

१८) नवजात शिशुको टाउको बाङ्गिनु, पेटमा उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाई परिवर्तन भइरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिलेनै बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्छ। जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी (३५ वर्ष भन्दा माथि) हुँदा, पटक–पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्‍याउनुपर्छ।

१९) सामान्यत मानिसको गर्भ अवधि ४० हप्ता ९२८० दिन० को हुन्छ। गर्भ ४२ हप्ता अर्थात् २९४ दिनभन्दा पछाडि गयो भने राम्रो मानिँदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ। त्यसो अवस्थामा नियमित रुपमा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

२०) उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मृगौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीविजन्य रोग, आलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन्।

२१) पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने (सानो सूतक हुने), महिना नपुग्दै व्यथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन्। त्यसका लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्दछ।