कांग्रेसको जागरण अभियान कार्यक्रममै कुटाकुट

Nepali congress_flag logo
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, २६ वैशाख। नेपाली कांग्रेसको जागरण अभियान कार्यक्रममै कुटाकुट भएको छ। जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको कांग्रेस २ नम्बर क्षेत्रीय समापति नवराज भट्टराईले बताए।

जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए।

श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए। झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो।

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए। कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए। सिन्धुपाल्चोकमा लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच चरम विवाद रहँदै आएको छ।