कांग्रेसको जागरण अभियान कार्यक्रमै कुटाकुट भएपछि…

लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, २६ वैशाख । कांग्रेसको जागरण अभियान कार्यक्रममा नै कुटाकुट भएको छ। सिन्धुपाल्चोकमा कांग्रेसको जागरण आभियानको उद्घाटनका क्रममा झडप हुँदा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट भएको हो। झडपमा परी कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत निकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् ।

कांग्रेस २ नम्बर क्षेत्रीय समापति नवराज भट्टराईका अनुसार, उनको टाउकोमा चोट लागेको छ जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।

जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए । सिन्धुपाल्चोकमा लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच चरम विवाद रहँदै आएको छ ।