भारतबाट २३ नेपाली चेलीको उद्धार

nepali-cheli-resque
लाेकपाटी न्यूज

झापा, २६ वैशाख । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलूक लैजान लागिएका अवस्थामा भारतबाट २३ नेपाली चेलीको उद्धार गरिएको छ । भारतको उत्तरी राज्य मिजोरमबाट आज उनीहरुको उद्धार गरिएको हो ।

भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरूलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रमूख जिल्ला अधिकारी जनकराज दाहालले बताए। म्यान्मासँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो ।

केही महीनाअघि म्यान्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यान्मा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालका अनुसार उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरूलाई कसरी दलालले म्यान्माको सीमामा पुर्याए भनी सोधखोज भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्